Technology Khabar ३१ श्रावण २०८२, शनिबार
काठमाडौं ।
राजस्व अनुसन्धान विभागले सिल्क ग्रुप प्रा.लि., सिल्क ग्रुप अन्तर्गतको सातवटा कम्पनी र सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पासहित १० जना विरुद्ध कर छलीको आरोपमा मुद्दा दायर गरेको छ।
८६ हजार ४ सय थान विद्युतीय चुरोट (भेप) चोरी पैठारीमा संलग्न रहेको आरोपमा सिल्क ग्रुप, सिल्क ग्रुप अन्तर्गतका सातओटा कम्पनी र यसका अध्यक्ष रमेश शेर्पासहित १० जना विरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्।
राजस्व चुहावटको कसुरमा आयोगले प्रतिवादीहरूबाट जम्मा ८७ करोड ३१ लाख २३ हजार ८ सय २८ रुपैयाँ ५० पैसा बिगो कायम र सोही बराबर जरिवाना गरेर १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार ६ सय ५७ रुपैयाँ असुल गर्नुपर्ने दायर गरिएको आरोप पत्रमा उल्लेख छ।
राजस्व अनुसन्धान विभागले ललितपुरको महालक्ष्मी नगरपालिका सितलहाइटबाट बरामद गरेको झण्डै २५ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक सिगरेट (भेप) सिल्क ग्रुपको सामान राख्ने गोदामबाट बरामद गरेको थियो।
विभागले गत पुस २१ गते पक्राउ गरेका सर्लाही बलारा नगरपालिका भागवतनाथ चौधरीको सूचना पछ्याउँदै जाँदा ठुलो परिमाणमा भेप बरामद भएको थियो।
भन्सार चोरी पैठारीका भेप समेतका मालवस्तु ओसारपसार गर्ने सूचना पाएपछि विभागले चौधरीलाई पक्राउ गरेको थियो।
पक्राउ परेका चौधरीले दिएको सूचनाको आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिका सितलहाइटमा रहेको आरएम ट्रेड एन्ड सप्लायर्सको गोदाममा चोरी पैठारी गरेर लुकाएको ८६ हजार ४ सय थान विद्युतीय चुरोट (भेप) बरामद गरेको थियो।
विभागले भेपसँगै आरएम ट्रेड एन्ड सप्लायर्सकाका सञ्चालक कञ्चनपुरका महेशप्रसाद पाठक र सोही गोदममा मालबस्तु राख्ने सिल्क ग्रुपका ट्रान्सपोर्ट म्यानेजर सिन्धुपाल्चोकका सन्तोष पराजुलीलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा विभागले सिल्क ग्रुपकाे अध्यक्ष रमेश शेर्पा र विजय शेर्पाकाे मुख्य भूमिका रहेकाे आराेपपत्रमा उल्लेख गरिएकाे छ।
सिल्क ग्रुप प्रा.लि. यस अन्तर्गतका पाँच कम्पनीले मौज्दातमा रहेको ३८ हजार ९ सय २४ थान भेप बिल बीजक जारी नगरी बिक्री गरेको कसूर स्थापित भएको विभागले उल्लेख गरेकाे छ।
विभागले लुकाई छिपाई राख्न प्रयोग भएको गोदामका सञ्चालक महेश प्रसाद पाठक र सिल्क ग्रुप प्रा.लि.का कर्मचारी सन्तोष पराजुलीसहितलाई मतियार कायम गरेर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार