Technology Khabar २८ श्रावण २०८२, बुधबार
काठमाडौं ।
कलङ्की नागढुङ्गा राजमार्गअन्तर्गत चन्द्रागिरि–१५ ढुङ्गेअड्डास्थित बस बिसौनी नजिक सञ्चालनमा ल्याइएको अत्याधुनिक (स्मार्ट) सार्वजनिक शौचालयमा थुप्रै सुविधाहरु रहेका छन् जसले उक्त शौचालयलाई ‘स्मार्ट’ बनाएको छ।
चन्द्रागिरि नगरपालिकाको सहकार्य, चन्द्रागिरि–१५ को सहजीकरण तथा एरोसान सस्टेनेबल स्यानिटेशनको करिब रु एक करोडको लागतमा सो ‘स्मार्ट’ शौचालय करिब दुईआना जमिनमा बनेको हो। यसको सञ्चालन तथा व्यवस्थापन सोही संस्थाले गर्ने जनाइएको छ।
शौचालयमा रोग सङ्क्रमण न्यूनीकरणका लागि स्वचालित उपकरणजस्तै स्वचालित फ्लस, बत्ती, साबुन, धारा छन् भने अलग स्नानकक्ष र महिलाको लागि स्तनपान कक्ष तथा ‘स्यानिटरी प्याड’ किन्ने व्यवस्था गरिएको छ। नगर क्षेत्रमा पहिलोपटक वातावरण तथा महिलामैत्री शौचालय सञ्चालमा आएको हो।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले एरोसान सस्टेनेबल स्यानिटशनेसँगका सहयोग र सहकार्यमा नगरका अन्य विभिन्न तीन स्थानमा यस्तै ‘स्मार्ट’ शौचालय बनाइने जानकारी दिए।
चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले सर्वधारणाको चाप रहने स्थानमा शौचालयको सुविधा दिनुपर्ने स्थानीय सरकारको दायित्व र सर्वधारणाको हकसमेत रहेको हुँदा एरोसान सस्टेनेबल स्यानिटेशनसँगका सहयोग र सहकार्यमा स्मार्ट शौचालय सञ्चालनमा ल्याएको बताए।
उनले भने, “सर्वसाधारणले फोहर फाल्दै आएका स्थानलाई उपयोग गरेर शौचालय बनाइएको र यसले ओगटेको क्षेत्र बाहिर हरियाली उद्यान बनाइने छ।”
शौचालयलाई वातावरणमैत्री बनाउन शौचालयबाट निस्केको ठोस तथा तरल पदार्थलाई स्रोतमै व्यवस्थापन गर्न बायोग्यास प्लाण्ट, आकाशेपानी सङ्कलन गरिने लक्ष्य रहेको एरोसान सस्टेनेबल स्यानिटेशनका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले जानकारी दिइन्।
नेपालमा ‘स्मार्ट’ सार्वजनिक शौचालयको परिकल्पनाकार स्व प्रकाशचन्द्र अमात्य अवधारणाअनुसार सो ‘स्मार्ट’ शौचालय सञ्चालनमा ल्याइएको हो। उनी एरोसान नेपालका संस्थापक अध्यक्ष समेत थिए।
एरोसान सस्टेनेबल स्यानिटेशनले काठमाडौँ र ललितपुर महानगरपालिकासँगका सहकार्यमा ती सहरका विभिन्न स्थानमा स्नानगृहसहितको ९ ओटा ‘स्मार्ट’ शौचालय निर्माण तथा सञ्चालन गर्दै आएको छ।-रासस
प्रकाशित: २८ श्रावण २०८२, बुधबार