नेपालका लागि डिजिटल क्रान्ति अङ्गाल्नु आवश्यकता होः मन्त्री भण्डारी

  • Technology Khabar | २८ श्रावण २०८२, बुधबार
नेपालका लागि डिजिटल क्रान्ति अङ्गाल्नु आवश्यकता होः मन्त्री भण्डारी
फाइल तस्बिर। रासस

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका लागि डिजिटल क्रान्ति आवश्यकता भएको बताएका छन्।

नेपालको दीगो विकास र समृद्धिका लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ मंगलबार सरोकारवाला निकायद्वारा आयोजना गरिएको कार्यशालामा मन्त्री भण्डारीले प्रविधिको प्रभावकारी प्रयोगले सेवा वितरणमा सुधार, रोजगारी सिर्जना र अन्तरराष्ट्रिय प्रतिस्पर्धा बढाउने धारणा राखे।

मन्त्री भण्डारीले हाल नेपालमा इन्टरनेटको पहुँच विस्तार र सूचना प्रविधि क्षेत्रमा प्रतिभाशाली युवाको सङ्ख्या बढ्दो भए पनि पूर्वाधारको पर्याप्त विकास, वित्त तथा बजारमा पहुँच जस्ता क्षेत्रमा अझै चुनौती रहेको बताए।

“डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१, औद्योगिक व्यवसाय ऐन, २०७६ र कम्पनी ऐन २०६३ मा समावेश प्रावधानलाई सकारात्मक कदमका रूपमा मूल्याङ्कन गरिएको छ”, उनले भने, “सीप विकास रोडम्यापको अभाव, संस्थागत तथा नियामक कमजोरी, शिक्षा र नवीन पूर्वाधारमा छरिएको लगानी जस्ता अवरोधलाई तत्काल सम्बोधन गर्नुपर्ने छ।”

एसियाली विकास बैंक (एडिबी) मार्फत ‘टेक एण्ड टेक–इन्बिल्ड स्टार्टअप’ सम्बन्धी अध्ययनका निष्कर्ष र सिफारिसमाथि छलफल गर्दै कार्यशालाका सहभागीहरूले पूर्वाधार, नीति तथा नियमन, सीप र प्रतिभा विकास, वित्तमा पहुँच, नवप्रवर्तन र डिजिटल समावेशीकरणका क्षेत्रमा ठोस र कार्यान्वयनयोग्य योजना बनाउन सुझाव दिए। कार्यशालामा सरकारी निकाय, निजी क्षेत्र, विज्ञ, उद्यमी र विकास साझेदारहरूको प्रतिनिधित्व रहेको थियो।-रासस

प्रकाशित: २८ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...