मोबाइल हराएमा वा चोरी भएमा के गर्ने?: यस्तो छ प्रहरीको सुझाव

Technology Khabar २५ श्रावण २०८२, आईतवार

मोबाइल हराएमा वा चोरी भएमा के गर्ने?: यस्तो छ प्रहरीको सुझाव

काठमाडौं ।

हामीले बोकेको मोबाइल फोन कतै छुट्ने, असावधानीका कारण हराउने वा कसैले चोर्ने घटना तपाईँ हामीले दैनिक रुपमा भोग्दै, देख्दै वा सुन्दै आइरहेको कुरा हो। दैनिक रुपमा सयौँ जनाको मोबाइल हराउने वा चोरी हुने भइरहेको हुन्छ।

तर सबै जनालाई मोबाइल चोरी भएमा के गर्नुपर्छ र यसमा प्रहरी वा  अन्य सम्बन्धित निकायले कसरी सहयोग गर्न सक्छ भन्ने थाहा नहुन सक्छ। जेसुकै चोरी भए पनि शुरुमा प्रहरीलाई खबर गरिने भएकाले मोबाइल चोरी हुँदा पनि प्रहरीलाई पनि खबर गर्न सकिन्छ। अहिले भने शुरुमा प्रहरीकोमा नगइकन घरबाटै अनलाइनमार्फत् उजुरी गर्न सकिने भएको छ।

मोबाइल चोरी हुँदा के कसरी उजुरी र खोजी कार्यमा लाग्ने भनेर हालै नेपाल प्रहरीले सचेतनामूलक प्रचार सामग्री बनाएर सामाजिक सञ्जाललगायत सर्व साधारणको पहुँच हुने ठाउँमा राखेका छन्।

प्रहरीका अनुसार चोरी तथा हराएको मोबाइलहरु नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा रजिस्टर भएको हुनु पर्छ। यदि तपाईँको हराएको फोन नेपालमा वैध तरिकाले भित्रिएको हो भने मात्र एमडीएमएसमा दर्ता हुने भएकाले मोबाइल अनाधिकारिक व्यक्तिबाट किनेको वा छिमेकी देशहरुबाट ल्याएको अथवा भेटेर चलाएको छ र त्यो मोबाइल एमडीएमएसमा दर्ता  छ छैन हेर्नुहोला। यसका लागि सबैभन्दा पहिले आफ्नो कम्प्युटर, ल्यापटप वा मोबाइल सेटमा गुगल खोल्नुहोस्।

त्यसपछि गुगलमा गएर nta.gov.np टाईप गरी सर्च गर्नुहोस्। सर्च गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणको साइट खुल्छ।

नेपाल दूरसञ्चार प्राधिकरणको साइट खुलेपछि आईएमईआई/मोबाइल ट्र्याक रजिस्ट्रेशनमा क्लिक गर्नुहोस्। त्यसपछि एउटा फर्म्याट आउँछ।

उक्त फर्म्याटमा चोरी तथा हराएको मोबाईलको आईएमईआई नम्बर, मोबाइल नम्बर, मोबाइलको ब्राण्ड, मोडेल,लस्ट/स्टोलन मध्ये एउटा छानेर हराएको मिति, हराएको स्थानहरु टाईप गरी नेशनालिटीमामा नेपाल राख्नुपर्छ।

अब ‘भ्यालिडेट आईएमई एण्ड कन्टिन्यु’ मा क्लिक गर्नुपर्छ। इमेल एड्रेसमा जीमेल आईडी टाईप गरी रिक्वेस्ट ओटीपीमा क्लिक गरेपछि तपाईँको ओटीपी कोड जीमेल आईडीको इन्बक्समा आउँछ। उक्त ओटीपी कोड भेरिफिकेशन कोड (ओटीपी) को खाली ठाँउमा राखेर ‘भ्यालिडेट आईएमई एण्ड कन्टिन्यु’ मा क्लिक गर्नुपर्छ।

त्यसपछि निवेदकको नामथर, सम्पर्क नम्बर, ठेगाना, नागरिकता वा राहदानी नम्बर, नागरिकता वा राहदानीको फोटो अपलवड आइडेन्टिटी डकुमेन्टमा राख्ने। फोटो २५० केबीभन्दा तल हुनु पर्छ। धेरै हुनु हुँदैन। त्यसपछि नेक्स्टमा क्लिक गर्ने।

माथि भरेको रिपोर्ट ठिक छ वा छैन एकचोटी चेक गरेर ठिक छ भने सबमिट फर्ममा क्लिक गरेपछि लस्ट स्टोलन रजिस्ट्रेशन सक्सेसफुल ओके मा क्लिक गर्नुहोस्। यति गरेपछि तपाईँको हराएको मोबाइल सेट कहाँ पुगेको छ भनेर खोज्न सम्बन्धित निकायसमक्ष पर्याप्त आवश्यक जानकारी उपलब्ध हुन्छ। यति गरेपछि हराउने मान्छेको तर्फबाट गर्ने काम सकिन्छ। त्यही जानकारीका आधारमा सम्बन्धित निकायले आवश्यक खोजी कार्य शुरु गर्छन्।

‘चोरी वा हराएको मोबाइल सेटहरु रिपोर्ट गरेपछि फर्ममा भरेको जीमेल आईडीमा मेल आयो कि भनेर बेलाबेला चेक गरिरहनु होला,‘ प्रहरीको अनुरोध छ।

यदि तपाईँको हराएको मोबाइल सेट अरु कसैले भेटेर वा चोरेर  तपाईँकोबाहेक अरु कुनै नयाँ नम्बरको सिम राख्यो भने नेपाल दूरसञ्चार प्राधिकरणले तपाईँको जीमेलमा त्यसको सूचनासहित पत्र पठाउँछ। यसरी जीमेलमा यस किसिमको पत्र आएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क राख्न सकिनेछ। त्यसपछि प्रहरीले आवश्यक कारबाही अगाडि बढाउँछ।

Sajilo Visa

प्रकाशित: २५ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार