Technology Khabar २४ श्रावण २०८२, शनिबार

काठमाडौं ।
झापाको भद्रपुर नगरपालिकाले वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ। राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गर्ने अभियानको क्रममा यहाँ आइपुगेका डा पुनलाई नगरपालिकाले शुक्रबार सम्मान गरेको हो ।
कार्यक्रममा डा पुनले विज्ञान र प्रविधिलाई आत्मसाथ गरेर सामाजिक सेवामा आफू ३२ वर्षदेखि समर्पित भएको बताए। वीरगञ्ज कृषि औजार कारखानाबाट कृषि औजार उत्पादन गरेर राष्ट्रलाई योगदान गर्ने उद्देश्यका साथ आफू लागि परेको उनको भनाइ छ।
कारखाना सञ्चालनका लागि ७१ वर्षीय डाक्टर पुन विगत ४८३ दिनदेखि पुस्तक बिक्री अभियानमा छन्। हालसम्म दुई लाख २५ हजार प्रतिपुस्तक बिक्रीबाट करिब रू १२ करोड रुपैयाँ बचत भएको उनले जानकारी दिए। पुस्तक बिक्रीबाट करिब रू २० देखि २५ करोड सङ्कलन गर्ने लक्ष्य रहेको जनाइएको छ।
करिब १७० पालिकामा पुगिसकेको जनाउँदै डा पुनले कृषि औजार कारखानाबाट उत्पादित कृषि औजारले कृषकको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे। कृषि औजार कारखानामा हाल विभिन्न १५ प्रकारका कृषि औजार निर्माण तथा परीक्षणको क्रममा रहेको र एक वर्षभित्रमा कारखानाबाट उत्पादित कृषि औजार देशभर पुर्याउने लक्ष्य रहेको जनाइएको छ।
हाल राष्ट्रिय आविष्कार केन्द्रबाट अस्पतालका लागि चाहिने विभिन्न प्रकारका सफ्टवेयर र केही साना मेसिन उत्पादन भएको उनले बताए। उनले ती सामानहरू खरिद गरेर प्रयोग गर्न आग्रहसमेत गरे।
कृषि औजार कारखाना सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेकाले योग्यता र दक्षता भएकालाई काम गर्न आउन उनले आह्वानसमेत गरे।
डा पुनले पुस्तकमार्फत युवामा व्यक्तिगत, समाज र राष्ट्रका लागि योगदान गर्ने सोचको विकास गर्न प्रेरित गर्न खोजिएको बताए। आफूले भोगेका अनुभव, सफलता र असफलताबाट पाठ सिकेर युवामा सकारात्मक सोचको विकास गराउन पुस्तक लेखिएको उनको भनाइ छ।
कार्यक्रममा प्रदेशसभा सदस्य मोहन महर्जनले डा पुनको अभियानमा सरकारको तर्फबाट सहयोग नहुनु दुखद् भएको बताए। अभियानमा सहयोग पुर्याउन उनले रू ११ हजार बराबरको पुस्तक खरिदसमेत गरे। डा पुनको अभियानका विषयमा प्रदेशसभामा कुरा उठान गर्ने प्रदेशसभा सदस्य महर्जनको भनाइ छ।
नगरप्रमुख गणेश पोखरेलले डा पुनको अभियानमा नगरपालिका सहभागी हुन पाउँदा गर्व महसुस भएको उल्लेख गरे। अभियानमा साथ दिँदै नगरपालिकाले रू ५० हजार बराबरको पुस्तक खरिद गरेको उनले जानकारी दिँदै डा पुनको अभियानमा सहयोग पुर्याउन सबैलाई आग्रहसमेत गरे।
सो अवसरमा नगरपालिकाकी उपप्रमुख राधा कार्कीले हरेक नागरिकले आफ्नो मनस्थिति र परिस्थिति बदल्न डा पुनबाट प्रेरणा मिल्ने र उनको कामको अनुशरण सबैले गर्नुपर्नेमा उनले जोड दिइन्। रासस
प्रकाशित: २४ श्रावण २०८२, शनिबार