इन्स्टाग्राममा रिपोस्ट र लोकेसन सेयरिङ्ग सुविधा उपलब्ध

  • Technology Khabar | २३ श्रावण २०८२, शुक्रबार
इन्स्टाग्राममा रिपोस्ट र लोकेसन सेयरिङ्ग सुविधा उपलब्ध

काठमाडौं ।

इन्स्टाग्रामले केही नयाँ सुविधाहरूको घोषणा गरेको छ। घोषणा गरिएको सुविधाहरूमा रिपोस्ट पनि समावेश रहेको छ जुन मूल रूपमा ट्विटरको रिट्विट जस्तै भएको बताइएको छ। रिपोस्टमा सार्वजनिक रीलहरू र फिड पोस्टहरू पुनः पोस्ट गर्न सकिनेछ। उक्त रिपोस्टहरू प्रयोगकर्ताका साथीहरू र फलोअरहरूलाई तिनीहरूको फिडमा सिफारिस गरिनेछ। रिपोस्टहरू प्रयोगकर्ताको प्रोफाइलमा छुट्टै ट्याबमा पनि फेला पर्नेछ वा तिनीहरूलाई रिभिजिट पनि गर्न सकिने छ।

रिपोस्टहरूको क्रेडिट (श्रय) भने मूल रुपमा पोस्ट गर्ने व्यक्तिलाई नै दिइनेछ। त्यसैले अब मुख्य क्रियटरको सार्वजनिक रीलहरू र पोस्टहरू अरू कसैले पुनः पोस्ट गर्दा ती पोस्टहरू उक्त व्यक्तिका फलोअरहरूलाई सिफारिस गरिनेछ। यसरी, मुख्य क्रियटरले “अब तपाईंसँग सेयर गर्न लायक केहि सिर्जना गर्नु भएको खण्डमा अब थप धेरै मानिसहरूसम्म पुग्ने नयाँ अवसर” प्राप्त गर्नु हुनेछ भनि इन्स्टाग्रामले उल्लेख गरेको छ।

रिपोस्ट आइकनमा हिट गरेपछि स्क्रिनमा देखा पर्ने ‘थट बबल’ मा टाइप गरेर कुनै पनि रिपोस्टमा नोट थप्न सकिने छ।

इन्स्टाग्रामले अर्को सुविधाको रुपमा इन्स्टाग्राम म्याप्स थप गरेको छ। इन्स्टाग्रामले यो सुविधा भने ट्विटरबाट नभइ स्न्यापच्याटबाट नक्कल गरेको बताइएको छ। यसमा प्रयोगकर्ताले छानेका साथीहरूसँग आफ्नो अन्तिम एक्टिभ लोकेसन (सक्रिय स्थान) सेयर गर्नका लागि अप्ट इन गर्न सक्नेछन्। साथै यसलाई जुनसुकै बेला बन्द गर्न सकिनेछ भने आफ्ना साथीहरू र मनपर्ने क्रियटर्र्सहरूले “कूल स्पटहरू” बाट पोस्ट गरिरहेका सामग्री हेर्न नक्सा खोल्न सक्नेछन्।

इन्स्टाग्रामले यसलाई “कनेक्ट गर्ने नयाँ, लाइटवेट (हल्का) तरिका” को रूपमा वर्णन गरेको छ। लोकेसन सेयरिङ डिफल्ट तवरमा बन्द हुनेछ र यसलाई साथीहरू, नजिकका साथीहरू वा केवल चयन गरिएका साथीहरूसँग साझा गर्ने भनेर छनौट गर्न सकिने छ। साथै विशेष ठाउँहरू वा व्यक्तिहरूसँग आफ्नो स्थान साझेदारी नगर्नका लागि पनि छनौट गर्न सकिने छ।

लोकेसन सेयरिङ प्रयोग गर्दा, तपाईंले इन्स्टाग्राम एप खोल्दा वा पृष्ठभूमिमा चलिरहेको बेलामा फर्कँदा तपाईंको स्थान अद्यावधिक हुनेछ। किशोरकिशोरीका लागि सुपरिवेक्षण सेटअप गर्ने अभिभावकले उनीहरूको लोकेसन सेयरिङ एक्सपिरियन्स (स्थान साझेदारी अनुभव) नियन्त्रण गर्न सक्नेछन्। यो अवस्थामा उनीहरूले आफ्नो स्थान साझेदारी गर्न थाले भने अभिभावकले नोटिफिकेसन प्राप्त गर्नेछन् र नक्सामा स्थान साझेदारीमा पहुँच छ कि छैन भनेर निर्णय गर्नुका साथै उनीहरूले आफ्नो स्थान कोसँग साझा गरिरहेका छन् भनेर पनि हेर्न सकिनेछ।

आफ्नो लोकेसन सेयर गरे वा नगरे पनि म्याप्समा स्थान–ट्याग गरिएको कन्टेन्ट देख्न सकिने छ जसमा फलो गरिएका व्यक्तिहरूका रिलहरू, पोस्टहरू र कथाहरूका साथै तपाईंले पारस्परिक रूपमा फलो गर्ने व्यक्तिहरूका नोटहरू समावेश हुनेछन्। यो सबै २४ घण्टाको लागि मात्र उपलब्ध हुनेछ। डीएम इनबक्सको शीर्षमा म्याप फेला पार्न सकिने छ भने यो हाल अमेरिकामा रोल आउट भइरहेको र “चाँडै विश्वव्यापी रुपमा उपलब्ध” हुनेछ।

यस बाहेक, रिल्समा उपलब्ध नयाँ फ्रेण्डस् ट्याबले तपाईंका साथीहरूले अन्तक्र्रिया गरेका सार्वजनिक सामग्री वा तपाईंले सुरु गर्नुभएको ब्लेन्ड्सबाट सिफारिसहरू प्रदर्शन गर्नेछ। यसले “तपाईंलाई सबैभन्दा बढी वास्ता गर्ने व्यक्तिहरूले कुन रिलहरू सिर्जना गरिरहेका छन् र संलग्न छन् भनेर हेर्न मद्दत गर्नेछ” भनि इन्स्टाग्रामले बताएको छ। यस वर्षको सुरुवातमा फ्रेन्ड्सको रोल आउट सुरु भएको थियो र अब विश्वव्यापी रूपमा लन्च हुने जीएसएमएरिनाले उल्लेख गरिएको छ।

प्रकाशित: २३ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार