विपद व्यवस्थापन प्राधिकरण र इस्ट–चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्रतिनिधिबीच छलफल, ‘रियल–टाइम डाटा’ आदानप्रदानमा सकारात्मक

  • Technology Khabar | १९ श्रावण २०८२, सोमबार
विपद व्यवस्थापन प्राधिकरण र इस्ट–चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्रतिनिधिबीच छलफल, ‘रियल–टाइम डाटा’ आदानप्रदानमा सकारात्मक

काठमाडौं ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र छिमेकी राष्ट्र चीनको जियान्सी प्रान्तमा रहेको इस्ट–चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक हुई चेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज छलफल भएको छ।

सिंहदरबारमा भएको छलफलमा उक्त विश्वविद्यालयको ‘स्कूल अफ जिओफिजिक्स एण्ड स्पेस एक्प्लोरेसन’सँग सम्बद्ध प्राध्यापक हुईले भौगर्भिक प्रकोपको अनुगमन, पहिचान, पूर्वसूचना प्रणाली र रोकथामका बारेमा विश्वविद्यालयले गरिरहेका काम र त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीबारे जानकारी गराएका थिए।

कार्यकारी प्रमुख भट्टले गत महिनाको रसुवा बाढी एवं विगत वर्षमा तिब्बत हुँदै नेपाल प्रवेश गर्ने नदीमा आएका आकस्मिक बाढीले पुर्याएको ठूलो क्षतिका विषयमा जानकारी गराएका थिए।

उनले नेपाल र चीनबीच ‘रियल–टाइम डाटा’ को आदानप्रदानलगायत पूर्वसूचना प्रणाली अत्यावश्यक भइसकेको उल्लेख गर्दै सहकार्यका लागि प्राधिकरण तयार रहेको बताए।

चिनियाँ प्रतिनिधिमण्डल पनि उक्त विषयप्रति सकारात्मक रहेको प्राधिकरणले जनाएको छ।रासस

प्रकाशित: १९ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...