काठमाडौं ।
कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको केसीसी एक्जिबिट २०२५ आज शुक्रबारबाट शुरु भएको छ। भोलि साउन १७ गतेसम्म चल्ने यो कार्यक्रम कलेज परिसर, पुतलीसडक, काठमाडौंमा आयोजना गरिएको हो।
‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताए। सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो ।
“नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ”, सञ्चारमन्त्री गुरुङले भने। सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए।
“यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोरजी घर घर पुर्याउने र फाइभजी लञ्च गर्ने भएका छौँ”, नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने, “अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो।”
कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिका माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिइन्। “मेहनत गर्ने र सूचना प्रविधि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन”, उनले भनिन, “क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ।”
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्रप्रसाद ढकालका अनुसार देशमा इञ्जिनियरको खाँचो छ। “यहाँ पढेर विदेश जाने युवा बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ? भन्ने चिन्ताको विषय बन्दै छ”, उनले भने। सचिव डा ढकालले युवा विदेश पलायन हुनु राज्यले सही वातावरण स्वदेशमा दिन नसक्नुको परिणाम रहेको बताए। यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवा पनि रहेको उनले सुनाए।
“सूचना प्रविधिमार्फत युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसका लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ”, सचिव डा ढकालले भने। दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाले बनाएका सूचना प्रविधि सम्बन्धी विभिन्न नवीन कामका नमुना प्रदर्शन गरिएका छन् ।
इनोभेसन, एक्जिबिट, इन्स्पायर भन्ने मूल नारासहित आयोजित यो दुईदिने प्रदर्शनीले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई थप सशक्त बनाउने कलेजको दावी छ।
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी नेतृत्वका परियोजनाहरू प्रदर्शित गरिनेछन्। जसमा कृत्रिम बुद्धिमत्ता (एआई), इन्टरनेट अफ थिङ्स, सफ्टवेयर एप्लिकेसनहरू, वेब/मोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश छन्।
त्यस्तै, बिबिए विद्यार्थीहरूद्वारा सञ्चालन गरिने ५ भन्दाबढी खाना स्टलहरूमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिनेछन्। जसले उद्यमशीलतालाई पनि प्रोत्साहन गर्ने कलेजले जनाएको छ।
कलेजका अनुसार प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम र प्रत्यक्ष प्रस्तुतिहरू पनि समावेश गरिएका छन्। कार्यक्रममा चर्चित गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक आदि रहेका छन्।
कार्यक्रममा १० हजार भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता अपेक्षा गरिएको छ। विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विशेषज्ञ, सञ्चारकर्मी र सर्वसाधारण सहभागी हुने संयोजक श्रेष्ठले बताए।
यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै शैक्षिक क्षेत्रमा प्रवर्द्ध र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको कलेजका उपनिर्देशक राजीव तिमल्सिनाले बताए।