Technology Khabar १५ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
विद्यार्थीलाई जटिल विषयहरू राम्रोसँग बुझ्न सघाउने उद्देश्यले ओपनएआई ले नयाँ स्टडी मोड सुरू गरेको छ। एन्थ्रोपिकले यसै वर्ष अप्रिलमा ल्याएको क्लाउडको लर्निङ मोड जस्तै, ओपनएआईको स्टडी मोडले पनि प्रश्नहरूको प्रत्यक्ष उत्तर नदिई, प्रयोगकर्तालाई आफ्नै समाधानतर्फ मार्गदर्शन गर्ने ढंगले सोक्रेटिक शैलीमा संवाद गर्नेछ।
यो मोडमा च्याटजीपीटी ले प्रयोगकर्ताको उद्देश्य र बुझाइको तह पहिचान गर्न आरम्भिक प्रश्नहरू सोध्नेछ। त्यसपछि जानकारीहरू “स्काफोल्ड” ढाँचामा क्रमशः प्रस्तुत गरिनेछन्, जसले प्रयोगकर्तालाई एकैचोटि धेरै जानकारी दिई अलमल्याउने जोखिम कम गर्ने इन्ग्याजेटले जनाएको छ।
ओपनएआई ले स्टडी मोड विकास गर्दा शिक्षक, वैज्ञानिक र शिक्षाशास्त्रीहरूसँग मिलेर काम गरेको बताएको छ।
यो सुविधा नयाँ मोडलमा आधारित नभई विशेष सिस्टम इन्ट्रक्शन प्रयोग गरेर चलाइनेछ। कम्पनीका अनुसार, “हामीले प्रयोगकर्ताको वास्तविक प्रतिक्रिया चाँडै बुझ्न र अनुभव सुधार्न यस तरिका रोज्यौं — यद्यपि यसले कहिलेकाहीँ असमान व्यवहार र त्रुटिहरू निम्त्याउन सक्छ।”
महत्वपूर्ण कुरा के छ भने स्टडी मोड सुरुवातमा केवल च्याटजीपीटी एडु प्रयोगकर्ताहरूका लागि सीमित गरिएको छैन। अहिले यो सुविधा फ्री, प्लस, प्रो र टिम प्रयोगकर्ताहरूले पनि उपयोग गर्न सक्छन्, भने एडु प्रयोगकर्तालाई “आगामी केही हप्तामा” उपलब्ध हुनेछ।
तर, यो मोड कति विद्यार्थीले वास्तवमै प्रयोग गर्छन् भन्ने हेर्न बाँकी नै छ, किनकि यो सजिलै अन–अफ गर्न मिल्ने विकल्पका साथ आउँछ। हालै न्यूयोर्क म्यागाजिनमा प्रकाशित रिपोर्टले अमेरिकी विश्वविद्यालयहरूमा एआई चिटिङ गम्भीर समस्या बनेको उल्लेख गरेको छ।
त्यसको जवाफस्वरूप ओपनएआई ले स्टडी मोड लाई अझ उपयोगी र आकर्षक बनाउन प्रयत्न गर्ने बताएको छ। कम्पनीले यो टुलमा अझ व्यक्तिगत अनुकूलन, लक्ष्य निर्धारण र प्रगति ट्र्याक गर्ने सुविधा थप्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको जनाएको छ।
प्रकाशित: १५ श्रावण २०८२, बिहीबार