वेमोले २०२६ मा ड्यालसमा स्वचालित ट्याक्सी सेवा सञ्चालन गर्ने

Technology Khabar १४ श्रावण २०८२, बुधबार

काठमाडौं ।

अल्फाबेटको स्वचालित ट्याक्सी सेवा प्रदायक वेमोले सन् २०२६ मा ड्यालस शहरमा आफ्नो स्वचालित सवारी सेवा सुरु गर्ने सोमबार घोषणा गरेको छ। यो निर्णय कम्पनीको अमेरिकी विस्तारलाई तीव्र बनाउने उद्देश्यसहित आएको हो, जसले टेस्लाको हालै सुरु भएको रोबोट्याक्सी व्यवसायसँग प्रतिस्पर्धा गर्न खोजेको देखिन्छ।

रोयटर्सका अनुसार वर्षौँको सतर्क विस्तारपछि वेमोले हाल नयाँ शहरहरूमा सेवा विस्तार गर्न गति बढाएको छ, जसमा राइड-हेलिङ प्लेटफर्म र फ्लीट अपरेटरहरूसँगको साझेदारीमार्फत सेवा सुरू गरिएको छ।

ड्यालसमा वेमो ले एभिस बजेट ग्रुपसँगको नयाँ बहुवर्षीय साझेदारीमार्फत सेवा सञ्चालन गर्नेछ। एभिसले फ्लीट सञ्चालन, मर्मतसम्भार र डिपो पूर्वाधार व्यवस्थापनको जिम्मा लिनेछ, वेमोले आफ्नो ब्लगमार्फत जनाएको छ।

रोयटर्सका अनुसार वेमो हाल फिनिक्स, सान फ्रान्सिस्को, लस एन्जलस र अष्टिन लगायतका शहरहरूमा करिब १,५०० सवारीमार्फत हप्तामा २,५०,००० भन्दा बढी सशुल्क यात्रा सेवा प्रदान गरिरहेको छ।

यस वर्ष, वेमोले अष्टिनमा उबर प्लेटफर्ममार्फत मात्र सेवा सुरु गरेको थियो। सोही शहरमा टेस्लाले केही महिनापछि करिब एक दर्जन मोडल वाई एसयूभी र अगाडिको सिटमा मानव सुरक्षाकर्मी राखेर सीमित रोबोट्याक्सी परीक्षण सुरु गरेको थियो।

टेस्लाका सीईओ इलन मस्कले कम्पनीले छिट्टै अन्य अमेरिकी शहरहरूमा रोबोट्याक्सी सेवा विस्तार गर्ने बताएका छन् र यसका लागि क्यालिफोर्निया, नेभादा, फ्लोरिडा र एरिजोना राज्यका नियामक निकायबाट स्वीकृति खोजिरहेको बताएका छन्।

स्वचालित सवारी साधनको व्यावसायीकरण चुनौतीपूर्ण रहँदै आएको छ। जीएमको क्रुजजस्ता केही कम्पनीहरू दुर्घटना, रिकोल र संघीय अनुसन्धानपछि बन्द भइसकेका छन्। अमेजन समर्थित जूक्सजस्ता केही कम्पनीहरूमात्र अझै सञ्चालनमा छन्, जसले यसै वर्ष आफ्नो व्यावसायिक सेवा सुरू गर्ने तयारी गरिरहेको छ।

टेस्लाको अष्टिन परीक्षण सुरु हुनु अघिसम्म वेमो नै अमेरिकामा सशुल्क चालकविहीन ट्याक्सी सेवा सञ्चालन गर्ने एकमात्र कम्पनी थियो।
वेमोले आफ्ना सवारी सेवा वेमो एपमार्फत उपलब्ध गराउनेछ। कम्पनीले ड्यालससँगै २०२६ मै मियामी र वासिङ्टन, डी.सी. मा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ।

यस साझेदारीलाई एभिसले परम्परागत भाडा सवारी सेवा प्रदायकबाट मोबिलिटी सेवा प्रदायकमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिको भागका रूपमा लिएको छ।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया