विश्वव्यापी एआई मोडेल गणनामा चीन शीर्ष स्थानमा

Technology Khabar १२ श्रावण २०८२, सोमबार

काठमाडौं ।

चीनले एक हजार पाँच सय नौ ठूला कृत्रिम बुद्धिमत्ता (एआई) मोडल जारी गरेको छ। यो विश्वभरमा सबैभन्दा धेरै सङ्ख्या हो र हालसम्म सुरु गरिएका तीन हजार सात सय ५५ मोडलको पर्याप्त हिस्सा हो। यो जानकारी २०२५ विश्व एआई सम्मेलन (डब्लुएआइसी) मा प्रस्तुत गरिएको हो।

चीनले आधारभूत पूर्वाधार र क्षेत्र–विशिष्ट अनुप्रयोगहरू समेटेर एक व्यापक एआई औद्योगिक प्रणाली स्थापना गरेको छ। चीन एकेडेमी अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (सिएआइसिटी) को तथ्याङ्कअनुसार देशमा पाँच हजार एक सयभन्दा बढी एआई कम्पनी छन्।

यी कम्पनीले विश्वभरका कुल कम्पनीको लगभग १५ प्रतिशत ओगटेका छन्। थप रूपमा, चीनमा ७१ एआई युनिकर्न कम्पनीहरू छन्, जसले विश्वका दुई सय ७१ युनिकर्नहरूको लगभग २६ प्रतिशत प्रतिनिधित्व गर्दछ।

सिएआइसिटीका अध्यक्ष यु सियाओहुईले यस वर्ष नयाँ प्राविधिक दृष्टिकोणका साथसाथै आधारभूत ठूला मोडेलहरूको द्रुत पुनरावृत्तिले आर्टिफिसियल जनरल इन्टेलिजेन्सतर्फ अघि बढ्ने महत्त्वपूर्ण सम्भावना देखाएको बताउनुभयो।

चीनमा अग्रणी कम्पनीहरू, उदीयमान युनिकर्नहरू, विशेषज्ञ फर्महरू र नयाँ स्टार्टअपहरूद्वारा विशेषता भएको सकारात्मक विकास परिदृश्य आकार लिएको उहाँले बताउनुभयो।

सूचीबद्ध कम्पनीहरू र युनिकर्नहरू चीनको एआई उद्योगका लागि प्रमुख इन्जिनका रूपमा पहिचान गरिएका छन्। चीनमा तीन सयभन्दा बढी एआई–सम्बन्धित सूचीबद्ध कम्पनीहरू छन्, जसको एआई–सम्बन्धित राजस्व देशको कुल एआई उद्योग मापनको लगभग ७० प्रतिशत हो।

चिनियाँ एआई युनिकर्नहरूका शीर्ष पाँच नवीनता क्षेत्रहरू ठूला मोडल, स्वायत्त ड्राइभिङ, बुद्धिमान रोबोट, व्यापारिक बुद्धिमत्ता अनुप्रयोग र एआई कम्प्युटिङ चिपहरू हुन्।

युले चीनको एआई उद्योग निरन्तर नयाँ प्रविधि, अनुप्रयोग र व्यापारिक मोडलहरूको धाराले प्रेरित भएर द्रुत रूपमा विस्तार भइरहेको बताउनुभयो। उहाँका अनुसार यो उच्च गुणस्तरीय आर्थिक र सामाजिक विकासको लागि मुख्य वृद्धि चालक बनेको छ।

साङ्घाईमा एकसाथ आयोजित ग्लोबल एआई गभर्नेन्स सम्बन्धी उच्च–स्तरीय बैठकसँगै ‘एआई युगमा विश्वव्यापी एकता’ शीर्षकको तीन दिने डब्लुएआइसी समापन भयो। बैठकमा ४० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूका उच्च–स्तरीय प्रतिनिधिहरूलाई एकत्रित भएका थिए।-रासस/सिन्ह्वा

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया