प्राविधिक जनशक्ति उत्पादनमा अब्बल कर्णाली प्राविधिक शिक्षालय

Technology Khabar ८ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

जुम्लामा अवस्थित कर्णाली प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादनमा अब्बल साबित भएको छ। २०३७ सालमा स्थापना भएको यो शिक्षालयले अहिलेसम्म करिब सात हजार प्राविधिक जनशक्ति उत्पादन गरेको छ।

प्राविधिक शिक्षालयको दोस्रो शिक्षालय प्रमुख टंकनाथ शर्माले २०७२ सालमा गरेको रोजगारीसम्बन्धी अध्ययन अनुसार शिक्षालयको प्रारम्भिक कालखण्ड अर्थात् २०६५ सम्म उत्पादन भएका ९९ प्रतिशत जनशक्ति रोजगारीमा संलग्न भएको तथ्याङ्क छ।

यस्तै २०६५ देखि डिप्लोमा तहको कार्यक्रम सुरु भएयता हालसम्म उत्पादन भएका जनशक्तिमध्ये करिब ५५ प्रतिशतले रोजगारी पाएको शिक्षालय स्रोतले जनाएको छ। कर्णालीको भौगोलिक कठिनाइबिच स्थापना भएको यो शिक्षालय स्वदेशमै दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसर सिर्जना गर्ने प्रमुख शैक्षिक थलोका रूपमा स्थापित हुँदै गएको छ।

शिक्षालयका प्रमुख टेकेन्द्रबहादुर थापाका अनुसार भविष्यमा उच्चस्तरीय डिप्लोमा र स्नातक तहका नयाँ कार्यक्रम थप गर्ने योजना रहेको छ। सरकारले प्राविधिक शिक्षालयलाई उद्योगसँग जोड्नुपर्ने बताउँदै उनले नीति बनाउने निकायले तालिम दिँदै हिँडेकाले प्राविधिक शिक्षालय धरापको अवस्थामा पुगेको बताए।

स्थानीय सरकारले प्राविधिक शिक्षालयलाई तालिम केन्द्रका रूपमा विकास गर्नु पर्छ। थापाका अनुसार स्थानीयस्तरमै प्राविधिक शिक्षा दिन सक्नुले कर्णालीको मानवस्रोत विकास ठुलो योगदान पुगेको छ। कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले प्राविधिक धारको शिक्षाले ग्रामीण समुदायको जीवनमा ठुलो परिवर्तन ल्याएको उल्लेख गर्दै शिक्षालयको समुन्नत विकासका लागि सबैलाई अग्रसर हुन आग्रह गरे।

कर्णाली प्राविधिक शिक्षालय केवल एउटा शिक्षण संस्था मात्र नभई कर्णालीको विकास र समृद्धिको आधार तयार गर्ने आधारशिला बनेको शाहीले बताए। नेपालकै पहिलो प्राविधिक शिक्षालयमा स्तरीय शिक्षा सुनिश्चित हुनुपर्ने चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए।

कर्णाली प्राविधिक शिक्षालयको इतिहास कर्णालीमै प्राविधिक क्रान्तिको थालनी हो। जुन आज पनि सिपयुक्त शिक्षाको आधार’ का रूपमा अगाडि बढिरहेको छ। शिक्षालयले ग्रामीण युवकयुवतीलाई रोजगारमूलक शिक्षा दिँदै उनीहरूको जीवनस्तर उस्कान महत्त्वपूर्ण योगदान पुयाएको छ।

हाल शिक्षालयमा सिभिल इन्जिनियरिङ, फार्मेसी, एग्री प्लान्ट साइन्स, फरेस्ट्री र हेल्थ एसिस्टेन्ट (एचए) लगायतका विषयमा अध्ययन भइरहेको छ। जुम्लाका साथै अन्य विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्ययन गर्न आउने गरेका छन्। कर्णाली प्राविधिक शिक्षालय जुम्लाले ४५ वर्ष पूरा गरिसकेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ८ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया