कर्निङले ईयूको प्रतिस्पर्धाविरोधी मुद्दाबाट बच्न फोन निर्माताहरुसँगको एकलौटी सम्झौता खारेज गर्यो

  • Technology Khabar | ५ श्रावण २०८२, सोमबार
कर्निङले ईयूको प्रतिस्पर्धाविरोधी मुद्दाबाट बच्न फोन निर्माताहरुसँगको एकलौटी सम्झौता खारेज गर्यो

काठमाडौं ।

गोरिल्ला ग्लास बनाउने अमेरिकी कम्पनी कर्निङले यूरोपेली आयोगद्वारा प्रतिस्पर्धाविरोधी ठहरिएका आफ्ना विशेष सम्झौताहरू र अन्य अभ्यासहरू अन्त्य गर्ने वाचा गरेको छ। यसका कारण कम्पनीले जरिवाना तिर्नु नपर्ने भएको हो ।

आयोगले गत वर्ष कर्निङको अनुसन्धान सुरु गरेको थियो, जसमा कम्पनीले विशेष आपूर्ति सम्झौतामार्फत प्रतिस्पर्धा दबाएको, मूल्य बढाएको र नवीनता रोकिएको आरोप लगाइएको थियो। अब आयोगले कर्निङले दिएको प्रतिबद्धता स्वीकार गरेको छ र यूरोपेली संघका नियमअनुसार कानुनीरूपमा बाध्यकारी बनाएको छ।

अनुसन्धान सुरु गर्दा आयोगले कर्निङले मोबाइल फोन निर्माताहरूलाई अल्काली-एएस ग्लास (गोरिल्ला ग्लास का रूपमा प्रचार गरिने) सम्पूर्ण वा लगभग सम्पूर्ण आपूर्ति आफैंबाट लिनुपर्ने शर्त राखेको थियो र सोबापत छुट पनि दिने गरेको थियो।

आयोगसँगको सम्झौता अनुसार कर्निङले अहिलेका सबै सम्झौताहरूमा रहेका विशेष आपूर्ति सम्बन्धी सबै प्रावधान हटाउनु पर्नेछ। साथै, भविष्यमा पनि यस्तो विशेष सम्झौता गर्न पाइने छैन ।

त्यसैगरी कर्निङले अब कुनै पनि निर्माता वा तिनका आपूर्तिकर्तालाई यूरोपेली आर्थिक क्षेत्रमा कुनै पनि मात्रामा अल्काली-एएस ग्लास किन्ने अनिवार्यता राख्न पाउने छैन । विश्वभरका लागि पनि कर्निङ ले कुनै निर्माता वा आपूर्तिकर्तालाई आफ्नो कुल आवश्यकताको ५० प्रतिशतभन्दा बढी किन्न बाध्य पार्न सक्ने छैन । कम्पनीको यो प्रतिबद्धता नौ वर्षसम्म लागू हुनेछ र अनुपालन सुनिश्चित गर्न एक ट्रस्टी नियुक्त गरिनेछ ।

रोयटर्सका अनुसार, यूरोपेली आयोगले जरिवानाको रूपमा कम्पनीहरूको कुल आम्दानीको १० प्रतिशतसम्म असुल गर्न सक्छ । तर कर्निङ लाई कुनै जरिवाना तिर्नु परेन। ब्लूमबर्ग सँगको बयानमा कम्पनीले भन्यो, “यूरोपेली आयोगको अनुसन्धान कुनै जरिवाना, कुनै गल्तीको ठहर र गोरिल्ला ग्लास वा कम्पनीको अन्य कारोबारमा कुनै असरबिना टुंगिएको छ ।”

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...