खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण

Technology Khabar ४ श्रावण २०८२, आईतवार

काठमाडौं ।

खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि दुई दिने शिक्षक प्रशिक्षण सुरु भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी र थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाको संयुक्त आयोजनामा सुरु भएको प्रशिक्षणमा नेपाल र भारतका गरी ५० जनाको सहभागिता रहेको छ।

कार्यक्रममा नेपालका ४६ र भारतका चार जना शिक्षकको सहभागिता रहेको प्रशिक्षणमा विज्ञान शिक्षा र विज्ञान कूटनीतिबारे सहभागीलाई ज्ञान दिइने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

आज यहाँ कार्यक्रमको उद्घाटन गर्दै अष्ट्रियाका लागि पूर्वनेपाली राजदूत प्रकाशकुमार सुवेदीले विज्ञान कूटनीतिबारे अपेक्षाअनुसार काम हुन नसकेको बताए। सरकारको नीति तथा कार्यक्रममा विज्ञान कूटनीतिका विषय समेटिए पनि सोअनुसार कार्यान्वयन भने हुन सकेको भन्दै उनले सरोकार भएका सरकारी एवं गैरसरकारी निकायले प्रविधिलाई नै विज्ञान भनेर बुझिदिँदा समस्या भएको धारणा राखे।

थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाका अनुसन्धाता डा मतिपोन ताङमतिथामले शिक्षक समाजका अगुवा भएकाले उनीहरूलाई प्रशिक्षित गरिए यस विषयमा जागरण फैल्याउन सकिने बताए। थाइल्याण्डमा काम गर्दाका अनुभव अन्य देशमा बाँडेर खगोल विज्ञानको क्षेत्रलाई समृद्ध बनाउने र यो कार्यक्रमको आयोजना पनि त्यसैको निरन्तरा भएको उनको भनाइ थियो।

थाइल्याण्डमा १६ वर्षअघि संस्थाको स्थापना हुँदा जम्मा तीन जना खगोलशास्त्री रहेकामा हाल ३०० भन्दा बढीलाई यसबारे विज्ञ बनाउन सकिएको पनि अनुसन्धाता ताङमतिथामले सुनाए।

प्रशिक्षणमा नेपालका सात र थाइल्याण्डका छ जना विज्ञले तालिम दिने जनाइएको छ। तालिमपछि प्रशिक्षार्थीले नेपाल र भारतका विद्यार्थीका साथै समुदायस्तरमा पनि यस विषयमा जनचेतना जगाउने छन्। रासस

प्रकाशित: ४ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया