Technology Khabar २ श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई ९०० मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी उपलब्ध गराएको छ। केही दिनअघि बसेको प्राधिकरणको बोर्ड बैठकले उक्त निर्णय गरेर ०४x२ मेगाहर्ज फ्रिक्वेन्सी प्रदान गरेको हो।
यसबारेमा पुष्टि गर्दै प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले टेक्नोलोजीखबरलाई भने, ‘फ्रिक्वेन्सीसम्बन्धी नीति २०८० ले मल्टिपल अफ फाइभमा फ्रिक्वेन्सी दिने प्रावधान गरेको छ। मल्टिपल अफ फाइभ हुँदा नयाँ प्रविधिहरुका कारण उक्त फ्रिक्वेन्सीको दक्षता बढ्छ। पहिले ९.६x२ थियो त्यसमा ०.४x२ थपेपछि १०x२ भयो। अलिकति फ्रिक्वेन्सी पनि थपियो र भएको फ्रिक्वेन्सीको उपयोगिता अथवा नयाँ प्रविधिको हकमा त्यसले दिने थ्रुपुटमा पनि सुधार आउने भयो।’
हाल टेलिकमसँग ९.६x२ मेगाहर्ज पेयर्ड (१९.२ मेगाहर्ज अनपेयर्ड) फ्रिक्वेन्सी रहेको छ। अब भने यसमा प्राधिकरणले ०.४x२ मेगाहर्ज थपेर कुल फ्रिक्वेन्सी १०x२ मेगाहर्ज पेयर्ड, अर्थात् २० मेगाहर्ज अनपेयर्ड पुर्याएको हो।
सामान्य हिसाबले हेर्दा टेलिकमको नीतिअनुरुप फ्रिक्वेन्सी थपेपछि बन्ने १० पेयर्ड र २० अनपेयर्ड दुवै मल्टिपल अफ फाइभ अर्थात् ५ ले निशेष भाग जाने सङ्ख्या हुन्।
पेयर्ड र अनपेयर्ड फ्रिक्वेन्सी के हुन्?
सामान्य हिसाबमा पेयर्ड फ्रिक्वेन्सी भन्नाले अपलिङ्क र डाउनलिङ्क सिग्नलहरू अलग-अलग तर एक-अर्कासँग मिल्दो (पेयर्ड) फ्रिक्वेन्सी ब्यान्डहरूमा सञ्चालन हुन्छन्। एक सेट फ्रिक्वेन्सी अपलोड (अपलिङ्क) को लागि प्रयोग हुन्छ जसबाट मोबाइल टावरमा डाटा जान्छ। अर्को सेट डाउनलोड (डाउनलिङ्क) को लागि प्रयोग हुन्छ जसबाट टावरबाट मोबाइलतर्फ डाटा आउँछ।
पेयर्ड फ्रिक्वेन्सीमा अपलिङ्क र डाउनलिङ्क एउटै समयमा गर्न सकिन्छ। यसलाई फ्रिक्वेन्सी डिभिजन डुप्लेक्सिङ भनिन्छ। यो प्रविधि विशेषगरी कलको गुणस्तर तथा डाटा थ्रुपुटका लागि बढी उपयोगी ठहर्छ।
थ्रुपुट शब्दावलीले कुनै नेटवर्क, प्रणाली वा यन्त्रले एकाइ समयमा कति डाटा सफलतापूर्वक ट्रान्सफर गर्छ भन्ने जनाउँछ।
अनपेयर्ड फ्रिक्वेन्सी भनेको एउटै फ्रिक्वेन्सी ब्याण्डमा अपलिङ्क र डाउनलिङ्क पालैपालो गरेर सञ्चालन हुने प्रविधि हो। अपलिङ्क र डाउनलिङ्क एउटै फ्रिक्वेन्सीमा समय छुट्याएर स्विच गर्दै चलाइन्छ। यो प्रविधिलाई टाइम डिभिजन डुप्लेक्सिङ भनिन्छ। यो यूट्युब टिकटकजस्ता डाउनलोड गर्दा धेरै ब्याण्डविथ लिने एप्लिकेशनहरुका लागि बढी उपयुक्त हुन्छ।
के का आधारमा फ्रिक्वेन्सी उपलब्ध गराइयो?
फ्रिक्वेन्सी नीतिले मल्टिपल अफ फाइभ गर्ने भनेको आधारमा गुणस्तरमा सुधार आओस् र नयाँ प्रविधिका हकमा फ्रिक्वेन्सीको दक्षता र कार्यसम्पादन क्षमता बढोस् भन्ने उद्देश्यले उपलब्ध गराइएको सहायक प्रवक्ता डा. पौड्यालले बताए।
‘टेलिकमहरुको गुणस्तर बढाउनका लागि कि त फ्रिक्वेन्सी थप्नुपर्छ कि त टावर सङ्ख्या थप गर्दै लैजानुपर्छ। यसरी फ्रिक्वेन्सी थप भएपछि गुणस्तर सुधारमा मद्दत पुग्छ वा त्यतिकै गुणस्तरलाई कायम राख्नका लागि कम मात्र उर्जा खपत हुन्छ’, उनले थपे।
मूल्य के आधारमा तोकिएको छ?
हाल उपलब्ध गराइएको फ्रिक्वेन्सी ०.४x२ अर्थात् ०.८ मात्रै छ जुन १ मेगाहर्जभन्दा कम हो। नीतिमा १ मेगाहर्जभन्दा कम परिमाणको फ्रिक्वेन्सीलाई अघिल्लोपटक ९०० मेगाहर्जको अक्शनमार्फत् तोकिएको व्यवस्था अनुरुपकै दरमा फ्रिक्वेन्सी दस्तुर लिने भन्ने उल्लेख भएकाले पुरानै मूल्यमा प्राधिकरणले फ्रिक्वेन्सी थप गरेको हो।
प्राधिकरण समितिले केही वर्षअघि ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको लागि आधार मूल्य अनपेयर्डमा प्रति मेगाहर्ज २ करोड २० लाख रुपैयाँ निर्धारण गरेको थियो।
प्रयोगमा आयो थप फ्रिक्वेन्सी?
गुणस्तर सुधारका लागि थप गरिएको फ्रिक्वेन्सी यही आर्थिक वर्षको साउन १ गतेदेखि प्रयोगमा ल्याउन पाउने व्यवस्था भए पनि नेपाल टेलिकमले उक्त फ्रिक्वेन्सी प्रयोगमा ल्याइसकेको भने छैन।
टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले भने, ‘फ्रिक्वेन्सी पाइसकिएको छ र सिस्टममा कन्फगरेशन गरेर हामी छिट्टै चलाउँछाैं। आजसम्म चलिसकेको छैन। सिस्टममा प्राविधिक काम भइरहेको छ।’
प्रकाशित: २ श्रावण २०८२, शुक्रबार