विपतको पूर्व सूचना दिन जडित साइरन विपतकै बेला बज्दैन

  • Technology Khabar | २९ असार २०८२, आईतवार
विपतको पूर्व सूचना दिन जडित साइरन विपतकै बेला बज्दैन
फाइल सांकेतिक तस्बिर

काठमाडौं ।

गुल्मीमा सम्भावित विपत्को पूर्वसूचना प्रदान गर्न २०७८ सालमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको थियो तर अहिले यो साइरन विपत्का बेला बज्दैन। जडान गरिएको उपकरण मर्मत नहुँदा अति संवेदनशील पूर्वसूचना प्रणाली (साइरन) प्रयोगविहीन भएको छ।

जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयानुसार लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट विनियोजन गरेर पूर्वसूचना प्रणाली जडान गरिएको थियो। विशेष गरेर ठुलो बडीगाड नदीले क्षति पुऱ्याउने भएपछि सो नदी किनारमा पूर्वसूचना प्रणाली जडान गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसीकोट नगरपालिकाका बामी र इन्द्रेगौंडा, चन्द्रकोटको मजुवा र चोरकाटे तथा सत्यवतीको रुद्रवेणी र रुरुक्षेत्र गाउँपालिकाको रिडीमा पूर्वसूचना प्रणाली जडान गरिएको जनाएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको ब्यारेक तथा जिल्ला प्रशासन कार्यालय गुल्मीमा पूर्वसूचना प्रणाली जडान गरिएको थियो। सबै स्थानका पूर्वसूचना प्रणालीमा मोबाइल नम्बर सेट गरेर आवश्यक परे तत्काल साइरन बजाउन मिल्ने अवस्था थियो।

विपत्का हिसाबले यो सूचना प्रणाली निकै प्रभावकारी छ तर जिल्लाका स्थापना गरिएका पूर्वसूचना प्रणाली बिग्रेर सूचना नदिने भएका छन्। मौसम पूर्वानुमानमा यो वर्ष बर्सातले सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित हुने भनेको छ।

जिल्ला विपत् व्यवस्थापन समिति गुल्मी आफैँले बाढीपहिरोको सम्भावित जोखिम क्षेत्र पहिचान गरेर २२ हजार बढी नागरिक प्रभावित हुने बताइरहेको छ तर विपत्का यी पूर्वसूचना प्रणाली चुस्तदुरुस्त र मर्मत भएका छैनन्। जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बजेट अभावका कारण पूर्वसूचना प्रणाली चुस्तदुरुस्त र मर्मत गर्न नसकिएको बताए।

उनले पूर्वसूचना प्रणाली जडान गर्ने व्यवसायीसँग समन्वय गर्दा जिल्ला प्रशासन कार्यालयमा बाहेक धेरै ठाउँमा मर्मतका लागि खर्च धेरै लाग्ने भएकाले अप्ठ्यारो स्थिति बनेको बताए। गैरेले भने, “महत्त्वपूर्ण प्रविधि बिग्रेर बसेका छन्। हामीले महसुस गरे पनि मर्मतका लागि बजेट छैन।”

पूर्वसूचना प्रणालीले जोखिमको मूल्याङ्कन, पूर्वानुमान निरीक्षण तथा सूचना र सञ्चारको काम गर्छ। जिल्लामा दुई सय स्थान बाढीपहिरोको जोखिमा छन् तर पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन सबै स्थानीय तह आबद्ध हुने विपत् व्यवस्थापन समिति संवेदनशील छैन।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले विपत्सँग जोडिएका पूर्वसूचना प्रणालीका विषयमा विपत् व्यवस्थापन समितिको वैठकमा आफूहरूले धेरै पटक कुरा उठाए पनि कार्यान्वयन नभएको बताए। ज्ञवालीले रिडी बजार कालीगण्डकीका कारण डुबानको जोखिममा भएकाले प्रशासनले प्राविधिक खोजेर पूर्वसूचना प्रणाली मर्मतको काम गरे खर्च साझेदारी गर्न समस्या नहुने बताउनुभयो।

बडीगाड र कालीगण्डकी नदी किनारका बस्ती धेरै पटक कटान र डुबानमा पर्ने गरेका छन्। सत्यवती गाउँपालिका-५, जोहाङका किशोर केसीले सरकार र तिनका निकाय पूर्वसूचना प्रणाली नै अवरुद्ध गरेर बस्नु दुःखद विषय भएको बताए।

केसीले उल्लीखोला, शाहाघाट, रुद्रवेणी, भुवाचिदीसहित रिडी बजार नै बाढीको डुबानको जोखिममा भएकाले सरकारसँग बजेटभन्दा संवेदशीलताको अभाव भएको गुनासो गरे।

आजको गोरखापत्रबाट

प्रकाशित: २९ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...