Technology Khabar २८ असार २०८२, शनिबार
काठमाडौं ।
ब्रिटिश काउन्सिलले यही जुलाई १७ देखि १९ तारिखसम्म हुन लागेको साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२५ मा सहभागी भई व्यवसायिक विकासको अनुभव हासिल गर्न नेपालभरका शिक्षकहरुलाई आमन्त्रण गरेको छ।
निःशुल्क सहभागी गराइने तीन दिनको यो विशेष अनलाइन इभेन्ट प्राथमिक र माध्यमिक तहमा अंग्रेजी विषय अध्यापन गराउने शिक्षक र शिक्षा क्षेत्रका व्यवसायिक व्यक्तिका लागि तयार पारिएको बताइएको छ। अनलाइन कार्यक्रममा अंग्रेजी भाषा शिक्षणसँग सम्वन्धित केही महत्वपूर्ण सवाललाई सम्बोधन गर्ने सत्रहरु (सेसन) समावेश गरिएका छन्।
“शिक्षकको व्यवसायिक विकासका लागि सहयोग” भन्ने विषयवस्तुसहित सम्मेलनमा विज्ञको नेतृत्वमा हुने ३ वटा प्यानल डिस्कसन समेत गरी ९ वटा सत्र सञ्चालन हुने काउन्सिलले जनाएको छ।
ती सत्रमार्फत् शिक्षकहरुले सबै विद्यार्थीहरूलाई सहयोग गर्न समावेशी अभ्यास र अंग्रेजी भाषाको शिक्षणमा २१ औं शताव्दीको नयाँ सीपको समायोजन तथा डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग गरी सिकाइ र शिक्षणलाई कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेबारे सिक्ने मौका पाउनेछन्।
काउन्सिलका अनुसार पहिलो बिषयवस्तुले समावेशी शैक्षिक अभ्यासबारे विस्तृतमा चर्चा गर्दै कक्षाकोठामा प्रत्येक विद्यार्थीहरूले आफूलाई महत्व दिइएको र सहयोग पाएको अनुभव गर्ने वातावरण सृजनाका लागि आवश्यक रणनीतिबारे शिक्षकलाई अवगत गराउनेछ।
त्यस्तै, दोस्रो बिषयवस्तु अंग्रेजी भाषाको शिक्षणमा २१ औं शताव्दीका सीप जस्तैः विश्लेषणात्मक सोच, सहकार्य र विश्वव्यापी नागरिक (ग्लोबल सिटिजनसीप) लाई एकीकृत गर्ने र बदलिंदो विश्व परिवेशमा विद्यार्थीलाई सहयोग गर्नेबारे केन्द्रित हुनेछ।
अन्तिम बिषयवस्तुले भने शिक्षण र सिकाइको अभिवृद्धिमा डिजिटल प्रविधि र एआइको रुपान्तरणकारी भूमिकाबारे चर्चा गर्नुुका साथै विविधतायुक्त कक्षाकोठालाई प्रभावकारी बनाउन शिक्षकहरुलाई नवीनतम साधनयुक्त कसरी बनाउन सकिन्छ भन्नेबारे जानकारी दिनेछ।
सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बेलायत र ग्रीसका प्रतिष्ठित वक्ता तथा अभ्यासकर्ताहरुले कक्षाकोठाभित्र प्राप्त हासिल गरेको दशकौंको अनुभव, प्राज्ञिक अनुसन्धान र नवीनतम विषयलाई प्रस्तुत गर्नेछन्।
दक्षिण एसिया र त्यसभन्दा बाहिरबाट समेत प्रतिनिधि सहभागी हुने विविधतायुक्त प्यानलले सहभागीहरुलाई समावेशी शिक्षा, २१ औं शताव्दीको सीप र डिजिटल प्रयोगको अंग्रपंक्तिमा रहेर काम गर्दै अंग्रेजी भाषाको शिक्षणलाई नयाँ ढंगले परिभाषित गर्दै आएका अगुवाबाट सिक्ने मौका प्रदान गर्नेछ।
क्षेत्रीय स्तरमा विद्यमान शिक्षण विधि र कक्षाकोठाको व्यवहारिक अनुभवमा आधारित भई विज्ञहरुले सहभागीका लागि निकै उपयोगी तथा नवीनतम दृष्टिकोण, प्रयोगात्मक रणनीति र विश्वस्तरीय अवधारणासहित सान्र्दभिक व्यवसायिक सिकाइ प्रदान गर्नेछन्, जसले दक्षिण एसियाको सन्दर्भलाई सवल बनाउन मद्धत गर्नेछ।
ब्रिटिस काउन्सिल दक्षिण एसियाका अंग्रेजी र विद्यालय शिक्षासम्बन्धी निर्देशक सराह रोजरसनले भनिन्, “हामी प्रविधि र विविधतासँगै रुपान्तरित शैक्षिक परिदृश्यमा प्रवेश गरेका छौं, त्यसैले हाम्रो ध्यान स्पष्ट छः हरेक शिक्षकले अंग्रेजी सिकाइलाई समावेशी, अर्थपूर्ण र भविष्यका तम्तयार पार्न आफू स्रोतसाधनयुक्त भएको महसुस गर्नुपर्दछ। वास्तविक खोज स्रोतसाधनबाट मात्र प्राप्त हुँदैन, बरु त्यसका लागि सहानूभूति, चिन्तन मनन र हरेक विद्यार्थीहरूमा पुग्ने प्रतिवद्धताबाट हासिल गर्न सकिन्छ।”
कक्षाकोठालाई थप समावेशी बनाउन, विद्यार्थीहरूलाई उनीहरुको भविष्यका लागि सीप प्रदान गर्न वा एआइमा आधारित शिक्षणको खोजी गर्न प्रयासरत शिक्षकहरुका लागि यो सम्मेलनले साधनसँगै व्यवसायिक रुपमा सबल बनाउन सहयोग गर्ने कम्पनीको दावी छ।
प्रत्येक सत्रमा सहभागी भएपछि इ–सर्टिफिकेट समेत पाउनेछन्। तसर्थ समावेशीकरण, नवीनतम सोच र प्रेरणामार्फत अंग्रेजी भाषा शिक्षणलाई नयाँ ढंगमा अघि बढाउन दक्षिण एसिया अन्य सयौं शिक्षकहरुसँगै यो सम्मेलनमा सहभागिता जनाउनका लागि तलको लिङ्कमा गएर नाम दर्ता गराउन सकिन्छ:
प्रकाशित: २८ असार २०८२, शनिबार