Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
नेपाली सूचना प्रविधि उद्योगले विदेशमा १० लाख डलरसम्मको लगानी गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले विदेशमा लगानीको नियमनमा नयाँ व्यवस्था गर्दै सूचना प्रविधि सम्बन्धी क्षेत्र/उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने उल्लेख गरेको छ।
नयाँ नियमअनुसार, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्नेछ।
यस्तै औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र / उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधनमा राखिएको छ।
जसअनुसार नेपाली आईटी कम्पनीहरुले विदेशमा लगानी गर्नका लागि अब १० लाख डलरसम्मको सटही सुबिधा पाउनेछन्।
“सूचना प्रविधि उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनु पर्नेछ । (४) उपविनियम (२) बमोजिमका सूचना प्रविधि उद्योगले विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्ला तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ,” संसोधित विनियमावलीमा भनिएको छ।
तोकिए बमोजिमको सटही सुविधा प्राप्त गर्न अनुसूची – १६क. अनुसारको कागजात संलग्न गरी एकाईमा निवेदन पेश गर्नु पर्नेछ भने निवेदन प्राप्त भएको मितिले पन्ध्र कार्य दिनभित्र राष्ट्र बैंकले निर्णय गरी निवेदकलाई जानकारी गराउने प्रावधान रहेको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार