डोमेन नाम व्यवस्थापन तथा नियमन अब सूचना प्रविधि विभागले गर्ने

Technology Khabar ३१ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

अबदेखि नेपालको लोकल डोमेन डट एनपीको नाम, व्यवस्थापन तथा नियम सूचना प्रविधि विभागले गर्ने भएको छ। सरकारले हालै संघीय संसदमा दर्ता गराएको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ मा यस्तो व्यवस्था गरिएको छ।

विधेयकको परिच्छेद ५ मा यस प्रकारको व्यवस्था गरिएको छ। विधेयकको दफा ३९ मा उल्लेख छ, ‘डोमेन नाम, सोको व्यवस्थापन तथा नियमन विभागले गर्नेछ। डोमेन नाम सञ्चालनलाई भरपर्दो र सुरक्षित बनाउनको लागि विभागले डोमेन नाम सञ्चालकलाई आवश्यक निर्देशन दिन सक्नेछ।’

कुनै व्यक्ति वा संस्थाले एनपी डोमेनमा नाम दर्ता गराउँदा विभागले तोकेको संस्थामा दर्ता गर्नु पर्ने प्रावधान छ। दर्ता भएको डोमेन नाम अरु कसैले प्रयोग गर्न पाउने छैन। दर्ता भएका डोमेन नामसँग झुक्किने वा मिल्दोजुल्दो हुने गरी डोमेन नाम दर्ता गर्न वा गराउन हुँदैन।

यसैगरी सरकारी निकायले आफ्नो कार्यालयको डोमेन नाम गभर्मेन्ट डट एनपी अन्तर्गत दर्ता गर्नु पर्नेछ। दर्ता भएको डोमेन नाम प्रत्येक दुई वर्षमा तोकिए बमोजिमको दस्तुर बुझाई नवीकरण गर्नु पर्नेछ। तर सरकारी निकायको डोमेन नाम नवीकरण गर्नु नपर्ने व्यवस्था गरिएको छ।

तर यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका डोमेन नाम भएको मितिले छ महिनाभित्र यस ऐन बमोजिम दर्ता गर्नु पर्नेछ।

कास्ता डोमेन नाम सुरक्षित रहन्छन्

निम्न प्रकारका नाम दोस्रो र तेस्रो तहका डोमेन नामको लागि सुरक्षित रहनेछन्:

  • प्रचलित कानून बमोजिम कुनै कम्पनीको नाममा दर्ता गरिएको व्यापारिक नाम
  • भौगोलिक वा पर्यटकीय स्थलको नाम
  • पुरातात्त्विक वा धार्मिक महत्त्वको नाम
  • राष्ट्रियरुपमा ख्याति प्राप्त व्यक्तिका नाम,
  • भौगोलिक वा पर्यटकीय स्थलको नाम
  • पुरातात्त्विक वा धार्मिक महत्त्वको नाम
  • राष्ट्रियरुपमा ख्याति प्राप्त व्यक्तिका नाम
  • सरकारी संस्थाको नाम
  • अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाम
  • नेपाल सरकारले तोकेका अन्य नाम

प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया