१५० मेगावाट भू-तापीय ऊर्जा प्लान्टमा सहकार्य गर्न मेटा र एक्सजीएस एनर्जी स्टार्टपबीच साझेदारी

Technology Khabar ३१ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

मेटा हालसालै भू-तापीय ऊर्जा अर्थात् जिओथर्मल एनर्जीतर्फ आकर्षित हुने प्रविधि कम्पनीहरूको पछिल्लो नाम बनेको छ। बिहीबार कम्पनीले न्यू मेक्सिकोमा १५० मेगावाट क्षमताको भू-तापीय विद्युत् केन्द्र विकास गर्न स्टार्टअप कम्पनी एक्सजीएस एनर्जीसँग सहमति गरेको घोषणा गरेको हो।

टेकक्रञ्चका अनुसार एक्सजीएस एनर्जीले विद्युत् केन्द्र कहाँ निर्माण गरिने भन्ने खुलाएको छैन र मेटाले पनि सम्झौता सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको छैन। मेटाका प्रवक्ताले यो सम्झौता हालको लागि विद्युत् खरिदको अनुबन्ध नभई “न्यू मेक्सिकोमा भू-तापीय ऊर्जा विकासलाई अघि बढाउने” सहमति भएको बताएका छन्।

हालसालै प्रविधि कम्पनीहरू, डाटा केन्द्र विकासकर्ता, र लगानीकर्ताहरू भू-तापीय प्रविधितर्फ आकर्षित हुन थालेका छन्। भू-तापीय ऊर्जा प्रदूषणरहित रूपमा चौबिसै घण्टा विद्युत् उत्पादन गर्न सक्छ, जसले हाइपरस्केल डाटा केन्द्रहरूका लागि यो प्रविधि आकर्षक बनाएको छ।

रोडियम ग्रुपका अनुसार, ‘एडभान्स्ड जियोथर्मल’ प्रविधिले अझ गहिराइसम्म ड्रिल गरी तातो चट्टानहरूबाट ऊर्जा निकाल्छ र यसले सन् २०३० सम्म अमेरिकाको नयाँ डाटा केन्द्रहरूको झन्डै दुई-तिहाइ विद्युत् आवश्यकता पुरा गर्न सक्ने क्षमता राख्छ।

धेरैजसो भू-तापीय स्टार्टअपहरूले ‘ओपन लुप’ प्रविधि अपनाइरहेका छन् जसमा पानीलाई एउटा चिराबाट जमीनमुनी पठाइन्छ र चट्टानका चिराहरू हुँदै अर्कोबाट निकालिन्छ। यस्तो प्रणालीमा केही पानी समयसँगै हराउँछ।

एक्सजीएस एनर्जीको प्रविधि भने फरक छ। यसले पानीलाई एक ‘क्लोज्ड लुप’ अर्थात् बन्द घेराभित्र पठाउँछ, जसले पानीको नोक्सानी घटाउँछ। साथै, कम्पनीले आफ्नो प्रविधिमा एक विशेष प्रकारको माटो कुँडाको बाहिरी भागमा प्रयोग गर्छ, जसले चट्टानबाट बढी ताप लूपमा सार्न सहयोग पुर्‍याउँछ।

एक्सजीएस एनर्जी र मेटाको सहकार्य पछिल्लो केही समययता भू-तापीय स्टार्टअपहरूले गरेका सम्झौताहरूको नयाँ कड़ी हो।

बुधबार मात्र फर्भो एनर्जीले आफ्नो केप स्टेशन विद्युत् केन्द्रको काम अगाडि बढाउन २०६ मिलियन डलरको लगानी सुरक्षित गरेको थियो। निर्माणपश्चात् यो केन्द्र विश्वकै सबैभन्दा ठूलो भू-तापीय विद्युत् केन्द्र हुने अपेक्षा गरिएको छ। कम्पनीको तीव्र गतिले यसलाई सन् २०२६ भित्र सार्वजनिक हुने सम्भावना बढाएको टेकक्रञ्चले उल्लेख गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया