Technology Khabar ३० जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
नेपाल टेलिकमले विद्युत आपूर्ति नहुँदा कर्णाली प्रदेशका केही स्थानका दूरसञ्चार सेवाहरु सञ्चालन गर्न कठिनाइ भइरहेको जनाएको छ।
कर्णाली प्रदेश अन्तर्गत बिभिन्न जिल्लाहरुमा संचालनमा रहेका नेपाल टेलिकमका सेवाहरु मध्ये जेठ ३० गते विहानदेखि केही स्थानका वारलेस (टूजी/थ्रीजी/फोरजी) तथा वारलाइन (एफटीटीएच लगायत) सेवाहरु सञ्चालन हुन नसकेको जानकारी दिएको छ।
जेठ ३० गते विद्युत प्राधिकरण सुर्खेतले “कोहलपुर सुर्खेत ३३ केभि अन्तरगत निकुञ्ज एरियाको देउरालीदेखि हर्रेसम्मको एरियामा फल्ट देखिएको र हिँडेर नै लाईन हेर्नुपर्ने हुँदा लाईन संचालनमा समय लाग्ने देखिएको जानकारी दिएको छ।
यसका साथै लम्कि सुर्खेत ३३ के भि अन्तरगत चिसापानी बाबियाचौर लाईन फल्ट देखिएको छ, जसमा बाबियाचौर र टिकापुरको मर्मत टिम खटिएको विद्युत प्राधिकरण सुर्खेतले उल्लेख गरेको छ।
यसका साथै, विहानैदेखि मौसम अनुकुल नरहेकोले सोलार साईटहरु सञ्चालनमा आउन कठिनाई भइरहेको नेपाल टेलिकमले बताएको छ।
“विद्युत आपुर्ति नहुँदा कतिपय स्थानका उपकरणहरु संचलानको लागि आवश्यक Battery/Power Backup न्यून हुन गई कम्पनीको केही सेवाहरु अवरुद्ध हुन पुगेका छन्। कम्पनीले सम्भव भएसम्म Portable Generator मार्फत सेवा सञ्चालन गर्न प्रयास गरेको समेत सबैलाई जानकारी गराइन्छ। यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ,” प्रादेशिक निर्देशनालयका निमित्त निर्देशक डा मधु सुधन दाहालद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार