काठमाडौं ।
गेट्टी इमेजेज र कृत्रिम बुद्धिमत्ता कम्पनी स्टेबिलिटी एआईबीचको ऐतिहासिक प्रतिलिपि अधिकार सम्बन्धी मुद्दा सोमबारदेखि लन्डनको उच्च अदालतमा सुरु भएको छ। यो मुद्दाले एआईसम्बन्धी कानुनमा महत्वपूर्ण उदाहरण स्थापित गर्नसक्ने अनुमान गरिएको छ।
सम्पादकीय सामग्री, क्रिएटिभ स्टक फोटो र भिडियो उत्पादन गर्ने सिएटलमा आधारित गेट्टी इमेजेजले स्टेबिलिटी एआईमाथि स्टेबल डिफ्युजन नामक एआई प्रणाली प्रशिक्षणका लागि आफ्ना तस्बिरहरू प्रयोग गरी प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोप लगाएको हो।
रोयटर्सका अनुसार स्टेबल डिफ्युजनले पाठको आधारमा तस्बिरहरू बनाउने क्षमता राख्छ।
गेट्टीले यस्तै प्रकृतिको अर्को मुद्दा अमेरिका मै पनि दायर गरेको छ। कम्पनीका अनुसार, स्टेबिलिटी एआई ले आफ्ना वेबसाइटहरूबाट लाखौं तस्बिरहरू अवैध रूपमा सङ्कलन गरेर एआई प्रणाली प्रशिक्षणमा प्रयोग गरेको हो।
स्टेबिलिटी एआईले भने आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै मुद्दाको प्रतिवाद गरिरहेको छ। कम्पनीको प्रवक्ताले भनेका छन्, “यो विवाद प्रविधिगत नवप्रवर्तन र विचार स्वतन्त्रताको विषय हो।” उनले थपे, “हाम्रा उपकरण प्रयोग गर्ने कलाकारहरूले सामूहिक मानव ज्ञानमा आधारित सिर्जनाहरू उत्पादन गरिरहेका छन्, जुन ‘फेयर युज’ र अभिव्यक्तिको स्वतन्त्रताको मूलमा पर्छ।”
गेट्टीको मुद्दा पछिल्ला दुई वर्षमा व्यापक रूपमा उपलब्ध भएका च्याटजीपीटीजस्ता एआई उपकरणहरूले उठाएको प्रतिलिपि अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय विवादहरूमध्ये एक हो। बेलायत, अमेरिका र अन्य देशहरूमा यस्ता मुद्दाहरू बढ्दो छन्।
व्यापक प्रभाव
सिर्जनात्मक उद्योगहरू अहिले यस्ता एआई प्रणालीहरूका कानुनी र नैतिक प्रभावहरूसँग जुझिरहेका छन्, जसले पूर्ववर्ती सामग्रीको आधारमा नयाँ सिर्जना गर्न सक्छन्। एल्टन जोनजस्ता चर्चित व्यक्तिहरूले कलाकारहरूको अधिकारको थप संरक्षणको माग गरिसकेका छन्।
कानुनी विशेषज्ञहरूले भन्छन्, गेट्टी को मुद्दाले एआईसम्बन्धी प्रतिलिपि अधिकारको कानुनी दायरा मात्र होइन, सरकारी नीति निर्माणमा समेत प्रभाव पार्न सक्छ।
एडलश गोड्डार्ड कानुनी फर्मकी रेबेका न्युम्यानले भनिन्, “कानुनी हिसाबले यो अपरिचित क्षेत्र हो। यो मुद्दाले एआई युगमा बेलायती प्रतिलिपि अधिकारले प्रदान गर्ने एकाधिकारको सीमा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”
उनले थपिन् कि यदि गेट्टी ले मुद्दा जित्यो भने स्टेबिलिटी एआई र अन्य विकासकर्ताहरू थप मुद्दाको सामना गर्नुपर्नेछ।
पिन्सेन्ट मेसन्स फर्मकी सेरिस विन डेभिसका अनुसार, उच्च अदालतको फैसला “बजार व्यवहार र बेलायतलाई एआई विकासको लागि उपयुक्त गन्तव्य बनाउने कुरामा महत्वपूर्ण असर पार्न सक्छ।”
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार