Technology Khabar २४ जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
एप्पल र डेलको प्रमुख आपूर्तिकर्ता पेगाट्रोन अमेरिकी कारखाना योजना मूल्याङ्कनको अन्तिम चरणमा पुगेको छ। यसको निर्णय यो महिना वा अर्को महिनाभित्र सार्वजनिक गरिने कम्पनीका अध्यक्ष तथा सीईओ कुआङ-चिह चेङले शुक्रबार बताएका छन्।
चेङले पत्रकारहरूसँग बताए अनुसार ताइवानको यो कम्पनीका लागि जमिन र श्रम लागत महत्त्वपूर्ण छन् भने कृत्रिम बुद्धिमत्ता (एआई) सर्भर उत्पादनका लागि सबैभन्दा महत्वपूर्ण विषय बिजुली भएको रोयटर्सले उल्लेख गरेको छ।
“हाम्रा प्रतिस्पर्धी र साझेदारहरूको जस्तै, हामीले पनि विचार गरिरहेका क्षेत्रहरू लगभग उस्तै हुने सम्भावना छ,” वार्षिक सेयरधारक बैठकको क्रममा सम्भावित स्थानबारे सोधिएको प्रश्नमा उनले भने।
ताइवानका अन्य निर्माताहरू फक्सकन, इनभेन्टेक र विस्ट्रोनले हालै अमेरिकाको टेक्सस राज्यमा विस्तार योजना घोषणा गरेका छन्।
पिगाट्रोनले अमेरिका–चीन व्यापार तनावपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालदेखि नै चीनबाहिर उत्पादन स्थानहरू विस्तार गर्दै आएको छ। कम्पनीले दक्षिणपूर्वी एशिया र मेक्सिकोमा उत्पादन विस्तार गरेको छ। अमेरिका इन्डियानामा यसले मर्मत कार्यको आधार केन्द्र राखेको छ भने क्यालिफोर्नियामा अफिस रहेको छ।
कम्पनीले गत वर्षदेखि मेक्सिकोमा एआई सर्भर उत्पादन लाइनको योजना बनाएको हो र तेस्रो त्रैमासिकदेखि त्यसको व्यापक उत्पादन सुरु हुने चेङले जानकारी दिएका छन्।
प्रकाशित: २४ जेष्ठ २०८२, शनिबार