विश्व सहायक प्रविधि दिवसको अवसरमा दृष्टिविहीनका लागि नेपालमा पहिलोपटक सहायक प्रविधि प्रदर्शनी

  • Technology Khabar | २१ जेष्ठ २०८२, बुधबार
विश्व सहायक प्रविधि दिवसको अवसरमा दृष्टिविहीनका लागि नेपालमा पहिलोपटक सहायक प्रविधि प्रदर्शनी

काठमाडौं ।

विश्व सहायक प्रविधि दिवस २०२५ को अवसरमा नेपाल नेत्रहीन संघ (एनएबी) ले बुधबार (जेठ २१ गते) नेपालमा पहिलोपटक दृष्टिविहीन तथा न्युन दृष्टियुक्त व्यक्तिहरूका लागि सहायक प्रविधि प्रदर्शनी आयोजना गरेको छ।

सुकेधारास्थित एनएबीको हलमा आयोजित प्रदर्शनीमा २१ वर्षिय दृष्टिविहीन जलदीप सापकोटले विभिन्न स्मार्टफोन एप जस्तै सिइङ्ग एआई (पाठ्य पुस्तक पढ्न, रङ्गहरु छुट्याउन),बि माई आईज (अनलाइन भिजुअल गाइड), बि माई एआई (आफ्नो वरपर के छ भनेर देखाउने) एपहरुको प्रयोग गरेर प्रदर्शन गरेका थिए।

साथै उनले नोट चिन्नका लागि क्यास रिडर प्रयोग गर्ने गरेको बताएका छन् भने सामान्य गुगल म्याप र जेमिनी लाइभ च्याट फिचर पनि प्रयोग गर्ने गरेको उल्लेख गरे। यी सबै एपहरु एन्ड्रोइड र आईओएसमा उपलब्ध भएको जानकारी दिएका छन्।

त्यसैगरी एनएबीमा सन् २०२० देखि कम्प्युटर प्रशिक्षकको रुपमा कार्यरत रहेका २७ वर्षिय दृष्टिविहीन शिव कुमार अग्रवालले कम्प्युटरको लागि एनभीडीए (नन् भिजुअल डेस्कटप एक्सेस) नामक स्क्रिन रिडर सफ्टवेयरको डेमो प्रयोग गरेर देखाएका थिए।उक्त प्रदर्शनीमा मोबाइल एप्स, स्क्रिन रिडर, ब्रेल उपकरण, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि लगायतका सहायक प्रविधिहरूको डेमो र प्रयोग गरेर देखाइएको थियो।

त्यसैगरी सोही प्रदर्शनीमा “सहायक प्रविधिमा पहुँच” समावेशीतामा सरोकारवालाको भूमिका शीर्षकमा प्यानल छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो।

छलफल कार्यक्रममा बोल्दै खोमराज शर्माले एनएबी दृष्टिविहीन तथा न्युन दृष्टियुक्त व्यक्तिहरूका लागि तालिम प्रदान गर्ने पहिलो संस्थाहरु मध्ये एक भएको र हाल सम्म चार सय जना भन्दा बढीले तालिम प्राप्त गरिसकेको बताए।

साथै, एनएबीले ‘Tech 4 Inclusion Nepal’ नामक राष्ट्रिय सहायक प्रविधि अभियानको औपचारिक शुभारम्भ गरेको छ जसको उद्देश्य नीति निर्माण, बजेट विनियोजन, र प्रविधिमा पहुँचको प्रवद्र्धन गर्नु भएको उल्लेख गरिएको छ।

नेपाल नेत्रहीन संघ (एनएबी) का अध्यक्ष शिशिर खनालले भने, ‘सहायक प्रविधिमा पहुँच अधिकार हो, विलासिता होइन। यो प्रदर्शनी नीतिनिर्माता, निजी क्षेत्र, सञ्चारमाध्यम, शिक्षक तथा नागरिक समाज सबैलाई सहकार्यको लागि प्रेरित गर्ने अभियान हो।’

कार्यक्रममा सरकारी निकाय, अपाङ्गता तथा शिक्षा क्षेत्रमा कार्यरत संस्था, विद्यालय, कलेज, अपाङ्गता भएका व्यक्तिहरूका संस्था, प्रविधि विकासकर्ता, सञ्चारकर्मी तथा दृष्टिविहीन र न्युन दृष्टियुक्त व्यक्तिहरूले सहभागिता जनाएका थिए।

नेपाल नेत्रहीन संघले यो केवल प्रविधिको प्रदर्शनी मात्र नभई दृष्टिविहीन तथा न्युन दृष्टियुक्त व्यक्तिहरूको अधिकार र सम्भावना उजागर गर्ने अभियान भएको बताएको छ।

यो प्रदर्शनी विश्वव्यापी ‘Unlock the Everyday’ अभियानको हिस्सा भएको बताइएको छ जसले विश्वभर करिब एक अर्ब मानिसहरूका लागि आवश्यक सहायक प्रविधिको पहुँच अभावलाई उजागर गर्दै सबैका लागि समावेशी प्रविधि सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्दछ।

ग्लोबल डिजेबिलिटी इनोभेशन (जीडीआई) हबको पहलमा सुरु गरिएको यो दिवस सन् २०२४ देखि मनाउन थालिएको हो।

प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार