Technology Khabar १९ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ। नगरपालिकाको वडा नं ४ बाट घर नम्बर वितरण आजदेखि थालिएको हो।
नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को वीपी चोकस्थित एक घरमा नम्बर प्लेट टाँसेर वितरणको सुरुआत गरेका हुन्। उनले आउँदो आर्थिक वर्षमा समग्र नगरपालिकाभरि घर नम्बर वितरण गरिने बताए। उनले भन्नुभयो, “यो वर्ष केही घरहरुमा नम्बर प्लेट वितरण गर्छाैं, आउँदो वर्ष बजेट विनियोजन गरेर नगरभरि नै घर नम्बर राख्छौँ ।”
आउँदो वर्षको बजेटमा रु ५० लाख बजेट विनियोजन गरेर काम गर्ने उहाँले बताए। आधुनिक प्रविधिको जिपिएस प्रणाली प्रयोग गरी घर नम्बर जडानसँगै घर सहज रुपमा पत्ता लगाउन सकिने, सुरक्षित हुने र नगरपालिकाका विभिन्न गतिविधि गर्न सहज हुने प्रमुख रेग्मीले जानकारी दिए।
वडा नं ४ का अध्यक्ष मकरमान श्रेष्ठले वडाका घरमा क्रमशः नम्बर वितरण गर्दै जाने बताए। उनले ८०० नम्बर प्लेट आइसकेको जनाउँदै यो वर्ष नसकिएका घरमा आगामी वर्ष काम गरिने बताए।
घर भएका र खाली घडेरीमा समेत नम्बर दिइने छ । सो वडामा ८०० हाराहारी घरधुरी रहेको उनले जानकारी दिए। कालिकाको पदमपुर क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको बस्ती स्थानान्तरण गरेर ल्याइएको क्षेत्रमा पर्दछ। यस क्षेत्रमा व्यवस्थित बसोबास रहेको छ। यो प्लानिङ क्षेत्र भएकाले नौलो मानिसका लागि सबैतिर एकै खालको सडक र बस्ती देखिन्छ। रासस
प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार