Technology Khabar १८ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा सहित सांसदहरु देवेन्द्र पौडेल, छविलाल बिश्वकर्मा, महेन्द्र कुमार राय, राम प्रकाश चौधरी, सरिता भुषाल, तथा ज्ञानु बस्नेत सुबेदीले मिति २०८१ जेठ १६ र १७ गते चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत अवलोकन तथा विद्यार्थी एवं प्राध्यापकहरूसँग अन्तरक्रिया गरेका छन्।
उक्त भ्रमणका क्रममा सांसदहरूले डिजिटल प्रविधि, च्याउ, प्लान्ट प्याथोलोजी, जैविक तथा प्राकृतिक स्रोतसाधन, तथा दिगो तथा लचिलो पूर्वाधार सम्बन्धी अनुसन्धान प्रयोगशालाहरूको अवलोकन गर्नुका साथै सम्बन्धित बिषयको अनुसन्धान गतिविधिबारे जानकारी लिएका थिए।
संयोजकहरु डा. भुषण श्रेष्ठ, डा. सबिना श्रेष्ठ, डा. अनुपमा श्रेष्ठ, डा. सर्बेश दास डंगोल, डा. किशोर तिम्लसिना तथा डा. राजिब सुब्बाले आआफ्नो कार्यक्रमका अन्तर्गत भइरहेको अनुसन्धानको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा डिजिटल प्रविधि, अर्ग्यानिक कृषि, वनजन्य जैविक सामग्रीहरू, दिगो तथा लचिलो पूर्वाधार विषयमा अध्ययनरत विद्यावारिधि तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले आफ्नो शोध सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।
विश्वविद्यालयका अध्यक्ष राजेन्द्र ध्वज जोशीले मदन भण्डारी बिज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरीय बनाउन आवस्यक नीतिगत सहयोग शिर्षकमा प्रस्तुतीकरण गर्दै राजनीतिक क्षेत्र लगायत समाजका विभिन्न तह र तप्काबाट उक्त विश्वविद्यालयलाई आवस्यक पर्ने सहयोगको बारेमा जानकारी गराए।
कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले आगामी दिनहरुमा मदन भण्डारी विश्वविद्यालयले नेपाल सरकारको अनुसन्धान नीति बनाउनमा सहयोग गर्ने अपेक्षा गरे। उनले अनुसन्धान मार्फत ज्ञानलाई उत्पादन संग जोडी नेपालका विभिन्न क्षेत्रमा योगदान गर्ने विद्यार्थी उत्पादन गर्न जोड दिए।
सांसद छविलाल विश्वकर्माले मदन भण्डारी विश्वविद्यालय परिवारको प्रतिबद्धतालाई प्रशंसा गर्दै अनुसन्धानमा संलग्न रहेका अनुसन्धानकर्मीहरुलाई नेपाल सरकारले उत्प्रेरणा दिनु पर्ने धारणा राखे।
प्राध्यापकहरुले मदन भण्डारी विश्वविद्यालय आउने चित्लाङ्ग सडक “गणेश मान सिंह राजमार्ग”को दुरावस्थाको बारेमा अवगत गराउँदै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइ उक्त सडक समयमै सुरक्षित यात्राको लागि उपयुक्त हुने व्यवस्था गर्न अनुरोध गरे।
कार्यक्रममा संघिय संसद प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति थापाले विश्वविद्यालयले अख्तियार गरेको नीति तथा कार्यक्रमहरु अरु विश्वविद्यालयका लागि पनि अनुकरणीय हुनेमा विश्वास ब्यक्त गरेका थिए।
प्रकाशित: १८ जेष्ठ २०८२, आईतवार