चीनले नेदरल्याण्ड्समाथि जासुसी प्रयास तीव्र बनाएको डच रक्षामन्त्रीको आरोप

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

चीनले नेदरल्याण्ड्समाथि जासुसी प्रयास तीव्र बनाएको डच रक्षा मन्त्री रुबेन ब्रेकलम्यान्सले शनिबार बताएका छन्। उनले भने, “हामी प्रविधिमा अगाडि रहेको अर्धचालक (सेमिकन्डक्टर) उद्योग चीनका लागि बौद्धिक सम्पत्ति हासिल गर्न चाहिने क्षेत्र हो।”

सिंगापुरमा भइरहेको शाङ्ग्रि-ला संवाद सुरक्षा बैठकको अवसरमा दिएको अन्तर्वार्तामा ब्रेकलम्यान्सले भने, “चीनलाई यो प्रविधि प्राप्त गर्नु चासोको विषय हो।”

डच सैन्य गुप्तचर एजेन्सीले गत वर्ष अप्रिलमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा चीनका जासुसहरूले नेदरल्याण्ड्सको सेमिकण्डक्टर, हवाई अन्तरिक्ष र समुद्री उद्योगहरूलाई लक्षित गर्दै चीनको सैन्य शक्तिमा योगदान पुर्‍याउने प्रयास गरिरहेको बताएका थिए।

जासुसी रोकिएको हो कि भन्ने प्रश्नमा मन्त्री ब्रेकलम्यान्सले भने, “यो जारी छ। हाम्रो पछिल्लो गुप्तचर प्रतिवेदनअनुसार चीनबाट सबैभन्दा ठूलो साइबर खतरा आइरहेको छ। सबैभन्दा धेरै साइबर गतिविधि पनि चीनबाट नै देखिएको छ। यो अघिल्लो वर्ष पनि त्यस्तै थियो, अहिले पनि त्यही छ। यसमा अझ वृद्धि भएको देखिन्छ।”

चीनको परराष्ट्र मन्त्रालयले यसबारे कुनै तत्काल प्रतिक्रिया दिएको छैन। बेइजिङले भने यस्ता साइबर जासुसीको आरोपलाई नियमित रूपमा अस्वीकार गर्दै आएको छ र सबै प्रकारका साइबर आक्रमणको विरोध गर्ने बताउँदै आएको छ।

डच गुप्तचर निकायहरूले गत वर्ष पहिलो पटक सार्वजनिक रूपमा चीनमाथि साइबर जासुसीको आरोप लगाएका थिए, जब सन् २०२३ मा चीन-प्रेरित साइबर जासुसहरूले डच सैन्य सञ्जालमा पहुँच बनाएको दावी गरिएको थियो।

ब्रेकलम्यान्सका अनुसार, सुरक्षा नेदरल्याण्ड्सका लागि झनै महत्त्वपूर्ण बन्दै गएको छ, किनभने “चीनले आफ्नो आर्थिक स्थितिलाई भूराजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको छ र हामीमाथि दबाब पनि सिर्जना गरिरहेको छ।”

उनले बताए अनुसार, डच सरकारले प्रमुख उद्योग र संवेदनशील हितहरू जोगाउन आवश्यक उपायहरू अपनाइसकेको छ। तर चीनमा निर्भरता घटाउन नेदरल्याण्ड्स मात्र नभई सम्पूर्ण क्षेत्र (यूरोप) ले थप ठूला कदम चाल्नुपर्ने आवश्यकता छ।

“युरोपेली संघ र राष्ट्रिय स्तरमा दुवै ठाउँबाट हामीले यी निर्भरताहरू कम गर्न थप ठूला कदम चाल्न आवश्यक छ,” मन्त्री ब्रेकलम्यान्सले बताए।

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया