इलन मस्कको एक्सएआई र मेसेजिङ्ग एप टेलिग्रामबिच एआई बिस्तारका लागि साझेदारी

Technology Khabar १७ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई (xAI) र मेसेजिङ्ग एप टेलिग्रामबिच एआई बिस्तारका लागि साझेदारी भएको छ। यो सम्झौतापछि  एआई च्याटबोट ग्रोक टेलिग्राममा उपलब्ध हुने भएको छ।

टेलिग्रामका संस्थापक पावेल डुरोभ आफैँले गत बुधबार यो जानकारी दिएका हुन्। यो साझेदारी एक वर्षका लागि रहेको र टेलिग्रामका एक अर्बभन्दा बढी प्रयोगकर्ताले यसबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।

यस सम्झौता अन्तर्गत ग्रोक च्याटबोट प्रत्यक्षरूपमा टेलिग्राममा एकीकृत हुनेछ अर्थात् अब प्रयोगकर्ताहरूले टेलिग्राममा च्याट गर्दा पनि स्मार्ट एआईको सहयोग प्राप्त गर्न सक्ने सीएनबीसीले रिपोर्ट गरेको छ।

डुरोभले भनेअनुसार उनी र मस्कले एक वर्ष लामो साझेदारी गरेका छन् जसले “टेलिग्रामको वित्तीय स्थितिलाई बलियो बनाउँछ।”

टेलिग्रामले यस साझेदारीबाट ३०० मिलियन अमेरिकन डलर रकम पाउने छ। यसका अतिरिक्त, डुरोभका अनुसार टेलिग्रामले प्लेटफर्ममा बेचिने एक्सएआईको सदस्यताहरूबाट ५० प्रतिशत राजस्व पनि कमाउनेछ।

“यस गर्मीमा, टेलिग्राम प्रयोगकर्ताहरूले बजारमा उपलब्ध उत्कृष्ट एआई प्रविधिमा पहुँच पाउनेछन्,” डुरोभले साझेदारीको घोषणा गर्दै आफ्नो पोस्टमा लेखे।

यी सुविधाहरू जुन २०२५ बाट सबै प्रयोगकर्ताहरूका लागि रोल आउट हुने अपेक्षा गरिएको छ।

मस्कले पछि एक्समा भने, “कुनै सम्झौतामा हस्ताक्षर भएको छैन।” तर थप जानकारी दिएनन्।

प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया