धादिङको धुनीबेंसीमा प्राविधिक शिक्षामा आधारित ‘जुनियर इन्जिनियरिङ’ पढाइ र तालिम शुरु

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
धादिङको धुनीबेंसीमा प्राविधिक शिक्षामा आधारित ‘जुनियर इन्जिनियरिङ’ पढाइ र तालिम शुरु
माइक्रोसफ्ट कोपाइलट डिजाइनरमार्फत् बनाइएको सांकेतिक तस्बिर।

काठमाडौं ।

धादिङको धुनीबेंसी नगरपालिकामा व्यावसायिक सिप र प्राविधिक शिक्षामा आधारित ‘जुनियर इन्जिनियरिङ पढाइका साथै तालिम सुरु गरिएको छ। घाटिङको धुनीबेंसीस्थित लुकुटेश्वरी माध्यमिक विद्यालयमा शेषकान्त फाउन्डेसनले धुनीबेंसी नगरपालिकाको सहकार्यमा ‘जुनियर इन्जिनिरिक्ङ’ को तालिम कक्षा सञ्चालन गरेको हो।

जर्मन प्रविधियुक्त अत्याधुनिक तालिम कक्षामा विद्यार्थीलाई कार्पेन्टर, हाइड्रोपावर, इलेक्ट्रिक इन्जिनियरलगायतका प्राविधिक शिक्षाको आधारभूत ज्ञानसँगै सिप सिकाउने उद्देश्यले पठनपाठन सुरु गरिएको हो।

शेषकान्त फाउन्डेसनका संस्थापक पवन ढकालका अनुसार यसको मुख्य लक्ष्य भनेकै जलविद्युत् जस्ता परियोजनामा काम गर्न सक्ने उच्च दक्ष जनशक्ति उत्पादन गर्नु हो। सिपयुक्त शिक्षा दिएर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने योजनासहित तालिम सञ्चालन गरिएको उनले बताए।

तालिम दिनका लागि विद्यालयमा आवश्यक सबै प्रकारका ल्याब र उपकरणको व्यवस्था गरिएको छ। सिपयुक्त प्राविधिक शिक्षा लिएर स्वदेशमै रोजगारी गर्ने उद्देश्यले तालिम लिइरहेको सहभागी विद्यार्थीको भनाइ छ। विद्यार्थीका लागि आवश्यक पर्ने सबैखाले ल्याब तथा उपकरणको व्यवस्थापन गरिएकाले प्राबिधिक पढाइमा विद्यार्थीको रुचि रहेको विद्यालयले जनाएको छ।

जुनियर इन्जिनियरिङ कक्षामा ५८ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका र तीमध्येबाट पहिलो चरणमा ४५ जना विद्यार्थीलाई पठनपाठन गराउने लक्ष्य लिएको छ। कक्षा ९ देखि १२ सम्मको चारबर्से पठनपाठन सकिएपछि उनीहरूलाई रोजगारीको अवसरसमेत सिर्जना गरिने लक्ष्य लिइएको हो ।

विद्यालयमा यसअधि कृषि प्राविधिक शिक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि इन्जिनियरिङको पढाइ थपिएको हो। धुनीबेंसी नगरपालिकाले प्राविधिक शिक्षालाई आफ्नो नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको छ।

देशमै युवालाई अड्याउन प्राविधक शिक्षा अपरिहार्य रहेको धुनिबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए।

आजको गोरखापत्रबाट 

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...