धादिङको प्राविधिक शिक्षालयमा जुनियर इन्जिनियरिङको निःशुल्क पढाइ सुरु

  • Technology Khabar | ११ जेष्ठ २०८२, आईतवार
धादिङको प्राविधिक शिक्षालयमा जुनियर इन्जिनियरिङको निःशुल्क पढाइ सुरु

काठमाडौं ।

धादिङको धुनीवेशी नगरपालिकाको ढकाल खोलामा सुरु भएको जर्मन प्राविधिक शिक्षालयले प्राविधिक शिक्षाको अभावमा विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्न जुनियर इन्जिनियरिङको निःशुल्क पढाइका साथै तालिम सुरु गरेको छ।

स्वदेशमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक शिक्षाको अभावमा सीप विना विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न भन्दै अहिले जुनियर इन्जिनियरिङको पढाइ निःशुल्क सुरु भएको हो।

यूरोपेली संघ संस्थाको सहयोगमा पचास करोड मुल्य बराबरको उपकरण ल्याई काठमाण्डौँ विश्व विद्यालय र स्थानीय तहको समन्वयमा जर्मन प्राविधिक शिक्षालयले केही वर्षअघि जलविद्युतका क्षेत्रमा काम गर्ने जनशक्तिका लागि प्रयोगात्मक कक्षा सञ्चालन सुरु गरेको थियो।

शेषकान्त फाउण्डेशनले संचालन गरेको शिक्षालयले अहिले स्थानीय त्रिकुटेश्वरी माध्यमिक विद्यालयसँगको सहकार्यमा जुनियर इन्जिनिरिङको कक्षा सुरु गरेको हो।

लामो समय नेपालमा जर्मनी प्रविधियुक्त अत्याधुनिक प्राविधिक शिक्षाको आधारभुत ज्ञानसँगै सीप सिकाइरहेको शिक्षालयमा अहिले कक्षा ९ देखि नै इन्जिनिरिङको कक्षा सुरु गरेको छ।

स्वदेशमा नै वसेर काम गर्न सकिने भन्दै अहिले विभिन्न जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि धुनीवेशी आउने गरेका छन्। प्रविधिक शिक्षालयमा अहिले कार्पेन्टर, इलेक्ट्रिक इन्जिनियर लगायतका कक्षाहरुपनि संचालन भइरहेका छन्।

शिक्षालयले प्राविधक शिक्षामा गरेको प्रयासलाई साथ दिँदै स्थानीय तहले समेत प्राविधिक शिक्षामा जोड दिने नीति लिएको छ। प्राविधिक शिक्षाका अध्यानका लागि प्रोत्साहन गर्न विद्यार्थीहरुलाई लाग्ने अतिरिक्त खर्चसमेत नगरपालिकाले बेहोर्दै आएको छ।

अहिले जुनियर इन्जिनियरिङ कक्षामा ५८ जना विद्यार्थीहरुले प्रवेश परीक्षा दिएको र ती मध्येबाट पहिलो चरणमा ४५ जनालाई अध्यापन सुरु गरिएको छ।

नौ कक्षा देखि १२ कक्षासम्म चार वर्षको प्राविधिक शिक्षा प्रदान गरिसकेपछि विद्यार्थीका लागि रोजगारीको अवसर पनि उपलब्ध गराउने शिक्षालयले जानकारी दिएको छ ।

प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार