Technology Khabar १० जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
खगोलविद्हरूले दुर्लभ प्रकारको दुईतारे प्रणाली (बाइनरी स्टार सिस्टम) पत्ता लगाएको बताएका छन्, जहाँ एउटा तारा आफ्नो जोडीको बाहिरी तहभित्र परिक्रमा गरिरहेको हुन्थ्यो।
नयाँ अध्ययनमा खगोलविद्हरूले पृथ्वीबाट लगभग ४५५ प्रकाश वर्ष टाढा रहेको पीएसआर जे१९२८+१८१५ नामको पल्सारको अध्ययन गरेका छन्। पल्सार भनेको न्युट्रोन तारा हो, जुन कुनै ठूलो ताराको विस्फोट (सुपरनोभा) पछि बाँकी रहेको अवशेष हो।
स्पेस डटकमका अनुसार यस्तो विस्फोटपछि बाँकी रहेको वस्तुको गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि यसले प्रोटोन र इलेक्ट्रोनलाई एकआपसमा थिचेर न्युट्रोन बनाउँछ, जसका कारण न्युट्रोन तारा मुख्यतः न्युट्रोनबाट बनेको हुन्छ र अत्यन्तै घनत्वयुक्त हुन्छ।
पल्सारहरू घुमिरहने न्युट्रोन तारा हुन्, जसले आफ्ना चुम्बकीय ध्रुवहरूबाट रेडियो तरंगहरूका दुई किरण उत्सर्जन गर्छन्। यी किरणहरू हामीलाई केवल तब देखिन्छन् जब ती ध्रुवहरू पृथ्वी तर्फ फर्किएका हुन्छन्, जसका कारण तिनीहरू पल्किएजस्तो देखिन्छन्। अनुसन्धानकर्ताहरूको अनुमान अनुसार यो पल्सार एक यस्तो निलो तारा बाट बनेको हो जसको द्रव्यमान सूर्यको भन्दा आठ गुणा बढी थियो।
विश्वकै सबैभन्दा ठूलो एकल-डिस टेलिस्कोप मानिने चीनको फाइभ हन्ड्रेड मिटर एपरचर स्फेरिकल रेडियो टेलिस्कोप (एफएएसटी) प्रयोग गरेर खगोलविद्हरूले पीएसआर जे१९२८+१८१५ सँग एक जोडी तारा हिलियम तारा रहेको र यसको आयतन सूर्यको १ देखि १.६ गुणासम्म रहेको पत्ता लगाए। यो ताराले आफ्नो अधिकांश — वा सबै — हाइड्रोजन तह गुमाइसकेको छ, जसका कारण यसको केन्द्र हिलियमबाट बनेको छ।
यी दुई तारा हाल करिब ७ लाख माइल (११.२ लाख किलोमिटर) मात्र टाढा छन्, जुन दूरी बुध ग्रह सूर्यबाट जति भन्दा ५० गुणा नजिक हो। अध्ययनका सहलेखक र चिनियाँ विज्ञान प्रतिष्ठानको राष्ट्रिय खगोल वेधशालाको रेडियो खगोल विभाग प्रमुख जिन-लान हानका अनुसार यी दुई ताराले ३.६ घण्टामा एक आपसमा परिक्रमा पूरा गर्छन्।
पीएसआर जे१९२८+१८१५ एक मिलिसेकेन्ड पल्सार हो, जसको अर्थ हो यो अत्यन्त तीव्र गतिमा घुम्दछ — करिब एक सेकेन्डमा १०० पटक। मिलिसेकेन्ड पल्सारहरू प्रायः आफ्ना नजिकका ताराहरूबाट पदार्थ सोस्दै तीव्र गतिको घुमाइमा पुग्छन्।
अघिल्ला अध्ययनहरूले यस्तो प्रकारका पल्सारहरू आफ्नो जोडी तारा भित्रको “साझा आवरण” (कमन इन्भेलप) चरणमा प्रवेश गर्छन्, जहाँ पल्सार आफ्नो जोडीको बाहिरी तहभित्र परिक्रमा गर्छ भन्ने संकेत गरेका थिए। यस्ता दुर्लभ प्रणालीहरू सम्भवत अहिलेसम्म प्रत्यक्ष रूपमा देखिएको थिएन ।
कम्प्युटर मोडेलको आधारमा अनुसन्धानकर्ताहरूले बताएको अनुसार यो प्रणाली सुरुमा एकअर्काबाट पृथ्वी र सूर्यको दूरीको झण्डै दोब्बर (१८.५ करोड माइल, वा २९९ मिलियन किलोमिटर) टाढा थियो।
पछि पल्सारले आफ्नो जोडीको बाहिरी तह सोस्न थाल्यो र दुवैलाई घेरेर साझा आवरण बन्यो। झण्डै १,००० वर्षपछि पल्सार आफ्नो जोडीको केन्द्र नजिक पुग्यो र त्यसपछि बाँकी आवरण फालिएको थियो, जसबाट अहिलेको जस्तो नजिकको बाइनरी प्रणाली बाँकी रह्यो।
अनुमानित तथ्यानुसार, मिल्की वे ग्यालेक्सीमा यस्तो प्रणाली मिल्ने केवल १६ देखि ८४ वटा मात्रै यस्ता जोडीहरू हुनसक्छन्। सन्दर्भको लागि, मिल्की वेमा करिब १०० अर्बदेखि ४०० अर्बसम्म तारा छन्।
प्रकाशित: १० जेष्ठ २०८२, शनिबार