Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयपछि एनसेल आजियाटा लिमिटेडको विदेशी मुद्रा सटही सिफारिसको सुबिधा दिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले एनसेलको लागि बुधबार उक्त सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको हो।
करिब २ वर्षदेखि एनसेलले विदेशी मुद्रा भुक्तानीको सिफारिस पाउन सकेको थिएन्।
नियामक निकायले २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीको रकम बाँकी बक्यौता रहेको भन्दै रोकिराखेकोमा केहि साता अगाडि बोर्डले निर्णय गर्दै सिफारिस दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
एनसेलका साथै नेपाल टेलिकमको पनि २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीको बाँकी बक्यौता रहेको भन्दै प्राधिकरणले सिफारिस रोकिदिएको थियो।
नेपाल टेलिकमले हालेको मुद्दाको फैसला आएसँगै कम्पनीले २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीको बाँकी रकम तिरेपछि भुक्तानी सिफारिस गरिदिएको थियो। तर टेलिकमको नाममा अझै बाँकी बक्यौता रहेको नियामकले नै बताएको थियो।
अर्कतर्फ समान व्यवहार र प्रतिस्पर्धाअनुसार एनसेलको लागि विदेशी मुद्रा सहटीको सिफारिस नभएको बारेमा प्राधिकरण बोर्ड आफैंले स्वीकार गरेको थियो। सोही अनुसार माथिल्लो निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निर्देशनको लागि माग गरेर पत्र पठाएको थियो।
सोही पत्रको आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सिफारिस दिनका लागि निर्देशनसमेत दिएका थिए।
हेर्नुस् सम्बन्धित समाचार-
सो निर्देशन दिएको करिब १ महिनापछि नियामकले सोही निर्देशन अनुसारको निर्णय गरेर सिफारिसका लागि मन्त्रालयमा पत्र पठाएको हो।
मन्त्री गुरुङले २०८१ चैत २८ गते निर्देशनयुक्त पत्र सञ्चार मन्त्रालयले पठाएकोमा २०८२ बैशाखको अन्तिम साता प्राधिकरणले सो बारेमा निर्णय गरेको थियो। तर उक्त निर्णय हालसम्म कार्यान्वयनमा जान सकेको थिएन्।
अब उक्त सिफारिस भएसँगै प्रकृयागतरुपमा एनसेलले आफ्नो उपकरणहरु आयातको लागि विदेशी मुद्रा भुक्तानी गर्न सक्नेछ।
कम्पनीले २ वर्षदेखि त्यस्तो सिफारिस नपाउँदा सेवाको गुणस्तरमा समस्या आउनसक्ने भन्दै उपकरणहरु मर्मत संभार गर्न नसकिएको र ग्राहकलाई समेत असर पर्नसक्ने भन्दै दर्जनौं पत्र नियामकलाई पठाएको थियो।
यसअघि कम्पनीले ब्याण्डविथ ल्याइरहेको कम्पनी टाटा कम्युनिकेसन्स सिंगापुरले समेत भुक्तानी नपाएको भन्दै कानुनी प्रक्रियामा जाने चेतावनी दिएको थियो। हाल सिफारिस पाएको खण्डमा उपकरणहरु स्तरोन्नति गर्न, सेवा सुधार गर्न, गुणस्तर कायम गर्न सहयोग हुनसक्ने एनसेलका कर्मचारीहरूको विश्वास छ।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार