इन्टरनेट सेवा प्रदायकहरुलाई रोयल्टी तथा आरटीडीएफ रकम दाखिला गर्न नियामकको १५ दिने म्याद

Technology Khabar ७ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम दाखिला गर्नका लागि सेवा प्रदायकहरुलाई १५ दिने म्याद दिएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरेर ७३ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई १५ दिने म्याद दिँदै बाँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउन भनेको छ।

सेवा प्रदायक कम्पनीहरुले बाँकी बक्यौताका साथै आफ्नो वित्तीय विबरणहरुका आवश्यक कागजातहरु समेत बुझाउनुपर्ने भनिएको छ।

उक्त अवधि भित्र विवरण तथा बक्यौता रकम दाखिला नगर्ने सेवा प्रदायकहरुलाई दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिएको छ।

यस्तो सूचीमा एरोनेट प्रालि, डिश मिडिया नेटवर्क लिमिटेड, ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेशन प्रालि, क्लासिक टेक प्रालि, टेकमाइन्ड्स नेटवर्क प्रालि, मर्केन्टाइल कम्युनिकेसन प्रालि, इस्टलिङ्क टेक्नोलोजी प्रालि, वेब सर्फर नेपाल कम्युनिकेसन्स प्रालि, वाइफाइ नेपाल प्रालि लगायतका कम्पनीहरु छन्।

यस्तो छ सूचना – “यस प्राधिकरणबाट इन्टर्नेट (ईमेल) तथा नेटवर्क सेवाको अनुमतिपत्र प्राप्त गरी सेवा संचालन गरिरहेका देहायका सेवा प्रदायकहरुले विगत केहि वर्ष देखि नेपाल सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनु पर्ने लेखा परीक्षण विवरण (Audited Financial Report), रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम निर्धारित समय भित्र बुझाउनु पर्नेमा बुझाएको नदेखिएको र हालसम्म तिर्न बुझाउनु पर्ने बक्यौता रकम समेत नियमानुसार दाखिला गर्न प्राधिकरणबाट पटक पटक पत्राचार, इमेल तथा सूचना मार्फत जानकारी गराउदा समेत विवरण सहित बाँकी बक्यौता रकम दाखिला गरी जानकारी नगराएको हुँदा यो सुचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र नियमानुसारको विवरण, कागजात सहित बांकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउनका लागि यसै सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै उक्त अवधि भित्र विवरण तथा बक्यौता रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।”

हेर्नुस् रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम नतिरेका सेवा प्रदायकको सूची-

List_

प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया