Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
नेपाल टेलिकमले फोरजी एलटीई सेवाका लागि आवश्यक कोर रेडियो एक्सेस नेटवर्क प्रथम तथा दोस्रो संरचनाको लागि यो वर्ष ९७ करोड १० लाख रुपैयाँ खर्च गरेको पाइएको छ।
यसका लागि भन्सार र कर बाहेक १९ अर्ब ६८ करोडको खरिद सम्झौता गरेको कम्पनीले उक्त आयोजना २०७६ माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखेकोमा २०७८ चैत्र मसान्तसम्म म्याद थप गरेको थियो।
तर त्यसयता म्याद थप नगरिएको यो आयोजनाका लागि कम्पनीले यो वर्ष ९७ करोड १० लाख रुपैयाँ खर्च गरेको हो।
यो आँकडा हालै महालेखा परीक्षकको कार्यालयले जारी गरेको बासट्ठीऔं प्रतिवेदनमा समावेश गरिएको छ।
आफ्नो व्यवसायलाई सुदृढ र विस्तार गर्न राष्ट्रव्यापी रूपमा फोरजी एल.टी.ई. नेटवर्कमा निश्चित समय तथा गुणस्तरको अधिनमा रही लगानी गरेको कम्पनीले परियोजना सम्पन्न गर्न ढिलाई गरेतापनि पूर्वनिर्धारित क्षतिपूर्ति रकम निर्धारण भने नगरेको पाइएको छ। साथै कार्यसम्पादन जमानत र अग्रिम पेस्की जमानतको नवीकरण समयमै भएको छैन।
खरिद सम्झौताको अवधि समाप्त भएको अवस्थामा सम्झौताको सर्तबमोजिम कारबाही नगरी थप खर्च लेख्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्ने सुझाव महालेखाले दिएको छ।
‘एल.टी.ई. नेटवर्कअन्तर्गत यो वर्षसम्म रेडियो एक्सेस नेटवर्क १ र २ सँग सम्बन्धित ४ हजार १८६ साईटमध्ये रु.१५ अर्ब ९५ करोडको ४ हजार १७७ (९९.७८ प्रतिशत) साईट निर्माण र पुँजीकरण भएको छ’, प्रतिवेदनमा उल्लेख छ।
तर प्रत्येक साइटमा सेवा र सामग्री लागतको मूल्य प्रमाणित गर्न पर्याप्त र उपयुक्त प्रमाणसहित संस्थाको समग्र वित्तीय विवरणमा पर्ने असर यकिन नगरिएको कैफियत भने भेटिएको छ।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार