Technology Khabar ६ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
वर्डप्रेस र खुला वेब प्रविधिको प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ यही जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ।
दुई दिने यो सम्मेलनमा नेपालभित्रका साथै भारत र बंगलादेशबाट पनि सूचना प्रविधि (आईटी) विज्ञहरू सहभागी हुने पक्का भइसकेको छ। पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने वर्ड क्याम्पलाई प्रविधिको महाकुम्भ मेलाको रुपमा समेत हेरिएको आयोजकले जनाएको छ।
सामुदायिक योगदान, ज्ञान आदानप्रदान र खुला प्रविधिको भावनालाई आत्मसात् गर्दै आयोजना हुँदै आएको यो कार्यक्रम विश्वभरका वर्डप्रेस प्रेमीहरूको साझा मञ्च हो।
पहिलो दिन: कन्ट्रिब्युटर डे (जेठ ३० / June 13)
कार्यक्रमको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’ मा सहभागीहरूले वर्डप्रेसको विकासमा प्रत्यक्ष योगदान दिने अवसर पाउनेछन्। अनुवाद, डिजाइन, डकुमेन्टेसन, कोडिङ, र प्रयोगकर्ता सहायता जस्ता विविध विधामा सहभागी भएर वर्डप्रेसलाई अझ मजबुत बनाउने कार्य गरिनेछ। अनुभव नभएकाहरूका लागि पनि सिक्ने र सँगसँगै योगदान गर्ने उत्कृष्ट अवसर हुनेछ।
दोश्रो दिन: सम्मेलन (जेठ ३१ / June 14)
सम्मेलनको मुख्य कार्यक्रम जेठ ३१ गते हुनेछ, जहाँ विभिन्न सत्रहरू, प्यानल छलफल र छोटो प्रस्तुतिहरू रहनेछन्। भारत र बंगलादेशका अनुभवी आईटी विज्ञहरूले विभिन्न विषयमा आफ्ना प्रस्तुति दिनेछन् — वेब विकास, सामग्री रणनीति, पहुँच (accessibility), उद्यमशीलता र खुला वेबको भविष्य जस्ता विषयहरू समेटिनेछन्।
सामुदायिक प्रयासमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन
आयोजकका अनुसार वर्डक्याम्प पोखराको विशेषता यसको सामुदायिक स्वरूप हो। नेपाल र विदेशबाट आउने सहभागीहरू — स्पिकरहरू समेत — आफ्नो यात्रा खर्च आफैँ व्यहोरेर सम्मेलनमा सहभागी हुँदैछन्। स्थानीय स्वयंसेवकहरूद्वारा पूर्ण रूपमा व्यवस्थापन गरिएको यो कार्यक्रम वर्डप्रेस समुदायको आत्मनिर्भरता र सहकार्यको प्रतीक बनेको छ।
सम्मेलनमा सहभागी हुन चाहनेहरूले रु १५०० मा टिकट किन्न सक्नेछन्। यो शुल्कमा कार्यक्रमको प्रवेश, टिसर्ट, लन्च र कफी समावेश छ। साथै, विभिन्न भुक्तानी साझेदारहरूमार्फत अतिरिक्त छुटहरू पनि उपलब्ध छन्। कार्यक्रममा करिब ८०० जनाको सहभागिता रहने आयोजकले अनुमान गरेका छन्।
पोखरामा आयोजना हुन लागेको यो सम्मेलन खुला वेब (open web), सामुदायिक योगदान र डिजिटल सिर्जनशीलताको उत्सव बन्ने आयोजकको अपेक्षा रहेको छ।
प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार