Technology Khabar १ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
यहाँको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट चोरी भएका ल्यापटप एक वर्षपछि फेला परेका छन्।
ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराइएका ११ वटा ल्यापटपमध्ये हराइरहेका आठओटा ल्यापटप फेला परेका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।
विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् २०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरिएको थियो।
घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । खोजीका क्रममा तीनवटा ल्यापटप मात्र बरामद भएका थिए ।
प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बाँकी आठओटा ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारेको अध्यक्ष वनेमले बताए। विद्यालय जस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको उनको भनाइ छ।
उक्त घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालाहरूलाई वनेमले आग्रहसमेत गरे। रासस
प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार