
काठमाडौं ।
हिमालयन आर्ट काउन्सिलले २०२५ मे १५ मा पाटन संग्रहालयमा नविनतम प्रविधि प्रयोग गर्दै “थाङ्का र पौभा कला प्रदर्शनी” आयोजना गर्ने भएको छ। दिउँसो ३:०० बजेदेखि ५:०० बजेसम्म आयोजना हुने यो प्रदर्शनीले नेपालको चित्रकला परम्पराको गहिरो सांस्कृतिक मूल्यका साथै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट नक्कली चित्र छुट्याउनलाई सहयोगी हुनेछ।
पाटन दरबार क्षेत्रस्थित संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ, र यही ऐतिहासिक स्थलबाट एक नयाँ राष्ट्रिय अभियान सुरु हुँदैछ, जहाँ परम्परा र प्रविधिको संगममा नेपाली कलाको संरक्षण, प्रमाणीकरण र अन्तर्राष्ट्रिय प्रतिष्ठा निर्माण गरिने जानकारी दिईयो।
पहिलोपटक, देशव्यापी रूपमा नेपाली कलालाई नक्कली प्रतिलिपिबाट जोगाउने, सही स्रष्टाको श्रेय दिने, र विश्व बजारमा भरपर्दो रूपमा प्रस्तुत गर्ने प्रयास संस्थागत रूपमा अघि बढाइनेछ।
यो प्रयास किन महत्वपूर्ण छ?
कलाकृति कुन स्थानमा छ, यसको मूल्य कति हो, र कति पुस्ता अगाडिको सम्पत्ति हो, सबै विवरण डिजिटल प्रमाणपत्र र ब्लकचेन प्रविधिमार्फत सुरक्षित रूपमा ट्र्याक गर्न सकिनेछ।
यस्तै कलाकारहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट नक्कली चित्र छुट्याउन, हस्ताक्षर नभएका कृतिहरूको सम्भावित स्रष्टा पहिचान गर्न, र कलाकारलाई उचित श्रेय सुनिश्चित गर्न सकिनेछ।
यस बाहेक नेपाली कलाको गहिरो अर्थमा पहुँच बढाउन अनुवाद, डिजिटल गाइड, र शिक्षामूलक उपकरणहरू उपलब्ध गराइने आयोजकको भनाई छ।
यो प्रयास कलाकार, प्रविधिविद्, र सांस्कृतिक अगुवाहरूबीचको सहकार्य हो, एक साझा प्रतिबद्धता, जसले नेपाली कलालाई संरक्षण, सम्मान, र अन्तर्राष्ट्रिय पहुँच प्रदान गर्ने लक्ष्य राख्ने काउन्सिलले जनाएको छ।
प्रकाशित: ३१ बैशाख २०८२, बुधबार