माइक्रोसफ्टसँग लगानी र भविष्यमा आईपीओका लागि छलफल गर्दै ओपनएआई

  • Technology Khabar | ३० बैशाख २०८२, मंगलवार
माइक्रोसफ्टसँग लगानी र भविष्यमा आईपीओका लागि छलफल गर्दै ओपनएआई

काठमाडौं ।

ओपनएआई र माइक्रोसफ्टले आफ्नो बहु-अर्ब डलरको साझेदारी पुनःलेख्न थालेका छन्, जसको उद्देश्य च्याटजीपीटी बनाउने कम्पनीले भविष्यमा आईपीओ ल्याउन सकून् भन्ने रहेको छ भने अर्कोतर्फ सफ्टवेयर क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अत्याधुनिक एआई मोडलहरूको पहुँच सुरक्षित गर्न सकोस् भन्ने रहेको आइतबार फाइनान्सियल टाइम्सले जनाएको छ।

यसमा ओपनएआईको नयाँ नाफामुखी व्यवसायमा माइक्रोसफ्टले हालसम्म लगानी गरेको १३ अर्ब डलरभन्दा बढी रकमको बदलामा कति हिस्सा पाउने भन्ने महत्वपूर्ण विषय रहेको रिपोर्टमा भनिएको छ। रिपोर्टअनुसार माइक्रोसफ्ट ले २०३० पछि विकास गरिने नयाँ प्रविधिमा पहुँचको सट्टा आफ्नो केही इक्विटी हिस्सा त्याग्न तयार रहेको रोयटर्सले उल्लेख गरेको छ।

उनीहरूले सन् २०१९ मा माइक्रोसफ्ट ले ओपनएआई मा १ अर्ब डलर लगानी गर्दा तयार गरिएको प्रारम्भिक सम्झौताका शर्तहरू पनि पुनःलेखन गरिरहेका रिपोर्टमा उल्लेख छ।

माइक्रोसफ्टले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। ओपनएआईले भने टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।

ओपनएआईले लगानीकर्ताहरूलाई पुनःसंरचनाको प्रक्रियासँगै आफ्ना सबैभन्दा ठूला लगानीकर्तासँग कम आम्दानी बाँड्ने जानकारी दिएको द इन्फर्मेशनले गएको साता जनाएको थियो।

यस वर्ष जनवरीमा ओर्याकल र जापानको सफ्टब्याङ्क ग्रुपसँग मिलेर अमेरिकामा ५०० अर्ब डलर बराबरको नयाँ एआई डाटा सेन्टरहरू निर्माण गर्ने संयुक्त परियोजनामा प्रवेश गरेपछि माइक्रोसफ्टले ओपनएआई सँगको सम्झौताका केही शर्तहरू परिवर्तन गरेको थियो।

प्रकाशित: ३० बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...