Technology Khabar २६ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
मेटाले फेसियल रिकग्निशन प्रविधिप्रति आफ्नो धारणा फेरिएको बताएको छ। पहिलो पटकको स्मार्ट चस्मामा यो प्रविधि समावेश गर्ने विचार गरे पनि अन्ततः त्यसबाट पछि हटेको मेटा अहिले भने वरपरका अनुहार चिन्न सक्ने उपकरणहरूमा काम गरिरहेको द इन्फर्मेसनले बुधबार रिपोर्ट गरेको छ।
द इन्फर्मेसनका अनुसार, मेटाले हालै आफ्ना स्मार्ट चस्मामा त्यस्ता सफ्टवेयर समावेश गर्ने छलफल गरेको छ, जसले वरपरका व्यक्तिको अनुहार स्क्यान गरी नामसहित पहिचान गर्न सक्छ। कम्पनीले यो प्रविधिलाई भविष्यमा आउने एआई सञ्चालित इयरफोनहरुमा पनि राख्ने सम्भावना बारे सोचिरहेको बताइएको छ, जसमा क्यामेरा समेत हुने इन्ग्याजेटले जनाएको छ।
यो अनुहार पहिचान प्रविधि मेटाको भित्रि नाम “सुपर सेन्सिङ” भनिने फिचरमा समावेश हुनेछ। हालको स्मार्ट चस्माको प्रत्यक्ष एआई फिचर ब्याट्रीका कारण केवल झण्डै आधा घण्टा मात्रै सक्रिय रहन सक्छ। तर २०२६ मा आउने भनिएको उपकरणमा भने यो फिचर घण्टौँ चल्न सक्नेछ।
द इन्फर्मेसनका अनुसार सुपर सेन्सिङ मोड चस्माको डिफल्ट मोड भने हुने छैन। प्रयोगकर्ताले आफैं यो फिचर सक्रिय गर्नुपर्नेछ। तर वरपरका व्यक्तिहरू — जसको अनुहार स्क्यान गरेर नाम पहिचान गरिनेछ — उनीहरूको सहमति भने आवश्यक नपर्नेछ।
अझ खराब कुरा त के भने, वरपरका मानिसलाई आफू स्क्यान भइरहेका छन् भन्ने थाहा नै नहुन सक्छ। अहिलेका रे-ब्यान मेटा चस्माले रेकर्डिङ गर्दा बत्ती बल्छ, जुन गुगल ग्लासको सामाजिक आलोचनाबाट सिकिएको गोपनीयता केन्द्रित फिचर मानिन्छ।
तर मेटा अहिले “सुपर सेन्सिङ” मोड सक्रिय हुँदा बत्ती बल्ने नबल्नेबारे पुनः सोचिरहेको छ।
एआईबाट सञ्चालित स्मृति क्षमता दिने चस्मा लगाउनु रमाइलो लाग्न सक्छ — केही सम्झनु नपर्ने, एआई ले वरपरको वातावरण स्क्यान गरेर सम्झाइदिने! तर वरपरका निर्दोष मानिसहरूको दृष्टिकोणबाट हेर्दा यो प्रविधि खासै रमाइलो लाग्दैन। मेटा चस्मा लगाउने यस्ता प्रयोगकर्ताहरूलाई कतिपयले अब “मेटाहोल” भन्न थाल्ने अवस्था आउन सक्छ।
अनुहार पहिचान प्रविधिको पुनरागमनसँगै मेटाले आफ्ना गोपनीयता नीतिहरू पनि अपडेट गरेको छ। अप्रिलमा कम्पनीले आफ्नो नीति परिवर्तन गरी वर्तमान स्मार्ट चस्माहरूमा एआई डिफल्ट रूपमा सक्रिय हुने व्यवस्था गरेको छ। यो फिचर बन्द गर्न “हे मेटा!” भन्ने ट्रिगर वाक्यांश निष्क्रिय गर्नुपर्ने हुन्छ।
त्यससँगै, प्रयोगकर्ताले अब आफ्ना स्वर रेकर्डिङ कम्पनीले स्टोर र प्रशिक्षणका लागि प्रयोग गर्न नदिने विकल्प पनि गुमाएका छन्।
द इन्फर्मेसनका अनुसार ट्रम्पको पुनःनिर्वाचनसँगै मेटाको यी नैतिक रूपमा विवादास्पद परिवर्तनहरू जोडिएका छन्। हालको संघीय व्यापार आयोग (एफटीसी) ले ठूला प्रविधि कम्पनीको नाफा घटाउने खालका नियमप्रति उत्साही देखिएको छैन।
गएको महिना एफटीसी कमिस्नर मेलिसा होल्योएकले गोपनीयता कार्यान्वयनमा “लचिलो, जोखिममा आधारित दृष्टिकोण” अपनाउने बताएकी थिइन्। निकायले अब “सर्भेइलान्स विज्ञापन” जस्ता लेबलहरू प्रयोग गर्न समेत छोडिसकेको छ।
प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार