
काठमाडौं ।
चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रोपी एशिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्।
सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्ससँगको भेटको तस्विर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
भेट पीएएको साइड लाइन मिटिङ्गमा भएको र बिल गेट्सलाई भेट्न पाउँदा सम्मानित भएको चौधरीले भनेका छन्। ‘हामीले नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रहरूले सामना गरिरहेका महत्वपूर्ण चुनौतीहरूमा गहिरो र अर्थपूर्ण आदानप्रदान गर्यौं।,’ उनले भनेका छन्, ‘दशक लामो साझेदारीको लागि आभारी छु-२०१५ को भूकम्पदेखि कोभिड प्रतिक्रिया र ‘बलियो नेपाल’ मार्फत हाम्रो पोषण कार्यसम्म।’
यसका साथै उनले गेट्स फाउन्डेसनका धेरै प्रमाणित विश्वव्यापी स्वास्थ्य पहलहरू नेपालमा ल्याएर सहकार्य विस्तार गर्ने बताएका छन्।
बिल गेट्सको नेतृत्वमा रहेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन विश्वमै स्वास्थ्य पहलका लागि विश्वमै सबैभन्दा धेरै रकम योगदान गर्न परिचित छ। बिल गेट्सले विश्वकै ठूलो परोपकारी संस्था बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा थुप्रै विकासशील राष्ट्रहरूलाई सहयोग गर्दै आएका छन्।
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार