डिजिटलाइजेसनको माध्यमबाट गुणात्मक सुधारका लागि आईसीटी मुख्य यन्त्रः प्रधानमन्त्री

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

डिजिटलाइजेसनको माध्यमबाट गुणात्मक सुधारका लागि आईसीटी मुख्य यन्त्रः प्रधानमन्त्री
फाइल तस्बिर

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटलाइजेसनको माध्यमबाट गुणात्मक सुधारका लागि सूचना तथा सञ्चार प्रविधिलाई मुख्य यन्त्रका रूपमा प्रयोग गरिने बताएका छन्।

‘सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण’ नाराका आज मनाइँदै गरेको आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा दिएको शुभकामना संदेशमा उनले अहिले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाले विकासका लागि अनुकूल वातावरण तयार भएको भन्दै नेपाल सरकार डिजिटल नेपालको अभियानलाई अगाडि बढाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने, डिजिटल साक्षरता बढाउने र सबै नागरिकलाई प्रविधिको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यमा अटल रहेको बताए। यसैगरी प्रधानमन्त्रीले डिजिटलाइजेसनको माध्यमबाट गुणात्मक सुधारका लागि सूचना तथा सञ्चार प्रविधिलाई मुख्य यन्त्रका रूपमा प्रयोग गर्ने उल्लेख गरे।

प्रधानमन्त्रीले विगतका केही दशक राजनीतिक परिवर्तन र स्थायित्वलाई पहिलो प्राथमिकता दिएको भन्दै सूचना प्रविधि २०औं शताब्दीको उपज भएको, नेपालले पनि पछिल्लो समयमा सूचना प्रविधिको क्षेत्रमा फड्को मारेको र नेपालले पछिल्ला केही दशकमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग र विकासमा पहल गरेको बताएका छन्।

“नेपाल सरकारले सूचना प्रविधिको महत्त्वलाई अङ्गीकार गरी सूचना प्रविधिको क्षेत्रमा सक्षम जनशक्ति निर्माण गर्न युवा लक्षित कार्यक्रम मार्फत उद्यमशीलता र रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रमा नवप्रवर्तन, कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र बजार पहुँचलाई सहज बनाउन डिजिटल माध्यम अनिवार्य रहेको मनन गर्दछौँ । राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन सूचना प्रविधि उद्योगको प्रवर्द्धन, निर्यात र विदेशी लगानी आकर्षित गर्न हरसम्भव प्रयास गर्ने कार्यदिशा नेपाल सरकारले लिएको छ,” उनले संदेशमा भनेका छन्।

यसैगरी आगामी आर्थिक वर्षभित्र नागरिक एपमा प्रमुख सरकारी सेवा एकीकृत गर्ने महत्त्वाकाङ्क्षी योजना लागू गरिने संदेशमा भनिएको छ।

“यसले नागरिकलाई सेवा पाउन सजिलो हुनेछ, पारदर्शिता बढ्नेछ र प्रशासनिक प्रक्रिया कार्यक्षमता अभिवृद्धि गर्नेछ। यस उद्देश्य प्राप्तिका लागि नागरिक एपमा समावेश भएका डिजिटल समाधान अङ्गीकार गरी सबै नागरिकको सहभागिता, निजी क्षेत्रको सहयोग र प्रविधि विशेषज्ञको सुझाव, सहयोग र सहकार्य गर्न आह्वान गर्दछौं। सबैको सहभागिताले शासनलाई अझ उत्तरदायी र नागरिक केन्द्रित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छ।”

साथै, नेपाल सरकारले इन्टरनेट सर्वसुलभ बनाउने, ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड विस्तार गर्ने, विद्युतीय ऊर्जाको उपलब्धता र भूगोलसँग मेल खाने अन्तर्राष्ट्रिय स्तरका डाटा सेन्टर स्थापना गर्ने, विश्व स्तरिय तालिम प्रदायक मार्फत सीपयुक्त दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने, साइबर सुरक्षा र डाटा संरक्षण सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था शीघ्र लागू गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया