
काठमाडौं ।
डुओलिङ्गोले अब आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) ले सम्हाल्न सक्ने कार्यहरूमा फ्रीलान्सरहरू प्रयोग गर्न बिस्तारै बन्द गर्नेछ भनि सह–संस्थापक र सीईओ लुइस भोन आनले कर्मचारीहरूलाई पठाएको आन्तरिक इमेलमा उल्लेख गरेको खुलासा भएको छ।
“मानिसहरूका लागि डिजाइन गरिएका प्रणालीहरूमा साना समायोजनहरू पर्याप्त नभएकाले कम्पनीले काम गर्ने तरिकामा धेरै पुनर्विचार गर्न आवश्यक रहेको” भनि उनले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।
यस परिवर्तनको एक भागको रूपमा, कम्पनीले “केही रचनात्मक प्रतिबन्धहरू” प्रस्तुत गर्नेछ, जसमा फ्रीलान्सरहरूसँग काम गर्ने परिवर्तनहरू, भर्ना र पर्फमेन्स रिभ्यूमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) समाधानहरू आवश्यक पर्ने, र “यदि टोलीले उनीहरूको कामको महत्त्वपूर्ण भाग स्वचालित रुपमा गर्न नसकेको खण्डमा मात्र नयाँ कर्मचारीहरूलाई भर्ना गर्न सकिन्छ” भन्ने नियम समावेश रहेको छ।
“डुओलिङ्गो आफ्ना कर्मचारीहरूको ख्याल राख्ने कम्पनी हो” र “यो कृत्रिम बुद्धिमत्ताले मानिसहरूलाई प्रतिस्थापन गर्ने बारे होइन” भोन आनले बताए।
“एआई केवल उत्पादकत्व बढाउने उपकरण मात्र होइन। यसले हामीलाई हाम्रो लक्ष्यको नजिक ल्याउँछ। गुणस्तर सिकाउन, हामीले ठूलो मात्रामा कन्टेन्ट क्रियसन (सामग्री सिर्जना) गर्नुपर्छ, र त्यो कन्टेन्ट म्यानुअल रूपमा सिर्जना गर्नु व्यावहारिक छैन” डुओलिंगोका सह–संस्थापकले लिंक्डइनमा पोस्ट गरिएको सन्देशमा भने।
“कन्टेन्ट क्रियसन गर्ने सुस्त, म्यानुअल प्रक्रियाबाट एआई द्वारा संचालित प्रक्रियामा स्विच गर्नु हामीले हालसालै गरेका सबैभन्दा राम्रो निर्णयहरू मध्ये एक थियो। एआई बिना, सबैको लागि पर्याप्त सामग्री सिर्जना गर्न दशकौं लाग्नेछ। यो प्रक्रियालाई गति दिन हामी उनीहरूप्रति ऋणी छौं” उनले थप उल्लेख गरे।
डुओलिङ्गोको यो इमेलले शोपिफाईका सीईओ टोबी लिट्केले कर्मचारीहरूलाई पठाएको आन्तरिक ज्ञापनपत्रको अनुसरण गरेको बताइएको छ। उक्त मेमोमा उनले टोलीहरूले थप मद्दत वा स्रोतहरू माग्नु भन्दा अघि, पहिले “किन उनीहरूले एआई प्रयोग गरेर कार्यहरू पूरा गर्न सक्दैनन्” भनेर देखाउन आवश्यक पर्ने बताएको टेलिग्राफले उल्लेख गरेका छ।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार