
काठमाडौं ।
दक्षिण कोरियाको डाटा संरक्षण प्राधिकरणले चिनियाँ कृत्रिम बौद्धिकता स्टार्टअप डीपसिकले प्रयोगकर्ताको जानकारी र प्रम्प्टहरू बिना अनुमति पठाएको बिहीबार जनाएको छ। त्यतिबेलासम्म उक्त सेवा अझै देशको एप मार्केटमा डाउनलोडका लागि उपलब्ध रहेको थियो।
डीपसिकले यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधमा तुरुन्तै प्रतिक्रिया दिएको छैन।
व्यक्तिगत जानकारी संरक्षण आयोगले एक वक्तव्यमार्फत भनेको छ कि हाङ्झाउ डीपसिक आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले जनवरीमा दक्षिण कोरियामा सेवा सुरु गर्दा चीन र अमेरिकास्थित विभिन्न कम्पनीहरूलाई व्यक्तिगत जानकारी पठाउँदा प्रयोगकर्ताको सहमति लिएको थिएन।
डीपसिकले व्यक्तिगत डाटाको सुरक्षासम्बन्धी एजेन्सीका केही नियमहरूको पालना नगरेको स्वीकार गरेपछि गत फेब्रुअरीमा दक्षिण कोरियाको डाटा एजेन्सीले डीपसिक एपको नयाँ डाउनलोडहरू निलम्बन गरेको थियो।
डाटा संरक्षण एजेन्सीले डीपसिकले प्रयोगकर्ताले प्रविष्ट गरेका एआई प्रम्प्टहरू सहित उपकरण, नेटवर्क र एपसम्बन्धी जानकारीहरू बेइजिङस्थित भोल्कानो इञ्जिन टेक्नोलोजी कम्पनी लिमिटेडलाई पठाएको बिहीबार बताएको छ।
डीपसिकले पछि भोल्कानो इञ्जिनलाई जानकारी पठाउने निर्णय प्रयोगकर्ता अनुभव सुधार गर्नका लागि गरिएको र कम्पनीले अप्रिल १० देखि एआई प्रम्प्ट सामग्रीको ट्रान्सफर रोकिएको जनाएको थियो।
एजेन्सीले भनेको छ कि डीपसिकलाई भोल्कानो इञ्जिनमा पठाइएको एआई प्रम्प्ट सामग्री तुरुन्त हटाउन र व्यक्तिगत जानकारी विदेश पठाउन कानुनी आधार स्थापित गर्न सुझावसहितको सुधारात्मक सिफारिस गर्ने निर्णय गरिएको छ।
प्रकाशित: ११ बैशाख २०८२, बिहीबार