Technology Khabar ७ बैशाख २०८२, आईतवार
काठमाडौं ।
वैज्ञानिकहरूको टोलीले पहिले कहिल्यै नदेखेको नयाँ रङ पत्ता लगाएको दाबी गरेका छन्।
यो अध्ययनमा अमेरिकाका अनुसन्धानकर्ताहरूले आफ्नो आँखामा लेजर पल्स फायर गरेको (बीम चम्काएको) उल्लेख गरिएको छ।
रेटिनामा विशिष्ट कोषहरूलाई उत्तेजित गरेर, सहभागीहरूले नीलो–हरियो रङ देखेको दाबी गरेका छन् जसलाई वैज्ञानिकहरूले “ओलो” भनेका छन्।
तर केही विज्ञहरूले भने नयाँ रङको अस्तित्व “तर्कको लागि खुला” रहेको बताएका छन्।
शुक्रबार साइन्स एडभान्सेस जर्नलमा प्रकाशित निष्कर्षहरूलाई अध्ययनका सह–लेखक, क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर रेन एनजीले “उल्लेखनीय” भनेर वर्णन गरेका छन्।
उनी र उनका सहकर्मीहरूले नतिजाहरूले सम्भावित रूपमा कलर ब्लाइण्डनेसमा थप अनुसन्धान गर्न सकिने” विश्वास व्यक्त गरेको छन्।
अध्ययन (प्रयोग) मा भाग लिएका पाँच व्यक्तिहरू मध्ये एक प्रोफेसर एनजीले शनिबार बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा ओलो “वास्तविक संसारमा देख्न सकिने कुनै पनि रङ भन्दा बढी स्याचुरेटेड” भएको बताएका थिए।
“मानौं तपाईं आफ्नो सम्पूर्ण जीवनभर आफ्नो वरिपरि पिंक (गुलाबी) रङ्ग, बेबी पिंक, पेस्टल पिंक मात्र देख्नुहुन्छ” उनले भने।
“र त्यसपछि एक दिन तपाईं कार्यालय जानुहुन्छ र कसैले शर्ट लगाएको हुन्छ जसको रङ्ग तपाईंले अहिले सम्म देख्नुभएको सबैभन्दा तीव्र बेबी पिंक हुन्छ, र तिनीहरू भन्छन् कि यो नयाँ रंग हो र हामी यसलाई रातो भन्छौं।”
टोलीको प्रयोगको क्रममा, अनुसन्धानकर्ताहरूले प्रत्येक सहभागीको एउटा आँखाको नानीमा लेजर बीम चम्काएका थिए।
अध्ययनमा चार पुरुष र एक महिला गरी कुल पाँच सहभागीहरू थिए। तिनीहरु सबैको कलर भिजन सामान्य नै भएको उल्लेख छ। साथै सहभागीहरूमध्ये प्रोफेसर एनजी सहित तीन जना अनुसन्धान पत्रका सह–लेखक थिए।
अनुसन्धान पत्रका अनुसार, सहभागीहरूले ओजेड (ओज) नामक डिभाइसको अध्ययन गरे जसमा ऐना, लेजर र अप्टिकल डिभाइसहरू मिलेर बनेको बताइएको छ। यो डिभाइस पहिले केही संलग्न अनुसन्धानकर्ताहरू – यूसी बर्कले र वाशिंगटन विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीद्वारा डिजाइन गरिएको र यस अध्ययनमा प्रयोगको लागि अपडेट गरिएको उल्लेख छ।
रेटिना आँखाको पछाडि रहेको प्रकाश–संवेदनशील तन्तुको तह हो जुन दृश्य जानकारी प्राप्त गर्न र प्रशोधन गर्न जिम्मेवार हुन्छ। यसले प्रकाशलाई विद्युतीय संकेतहरूमा रूपान्तरण गर्छ, जुन त्यसपछि अप्टिक नर्भ मार्फत मस्तिष्कमा प्रसारित हुन्छ, जसले हामीलाई हेर्न सक्षम बनाउँछ।
रेटिनामा कोन कोषहरू समावेश हुन्छन्, जुन रङ्ग बुझ्न जिम्मेवार कोषहरू हुन्।
आँखामा तीन प्रकारका कोन कोषहरू हुन्छन् – एस, एल र एम – र प्रत्येक क्रमशः नीलो, रातो र हरियोको फरक वेभलेन्थहरू प्रति संवेदनशील हुन्छ।
अनुसन्धान पत्रका अनुसार, सामान्य भिजनमा, “एम कोन कोषलाई उत्तेजित गर्ने कुनै पनि प्रकाशले यसको छिमेकी एल र/वा एस कोनहरूलाई पनि उत्तेजित गर्नुपर्छ”, किनभने यसको कार्य तिनीहरूसँग ओभरल्याप हुन्छ।
यद्यपि, अध्ययनमा, लेजरले एम कोनहरूलाई मात्र उत्तेजित गरेको बताइएको छ, “जसले सिद्धान्तमा मस्तिष्कमा रङ्ग संकेत पठाउनेछ जुन न्याचुरल भिजन (प्राकृतिक दृष्टि) मा कहिल्यै हुँदैन” भनि उक्त पत्रले उल्लेख गरेको छ।
यसको अर्थ विशिष्ट उत्तेजनाको मद्दत बिना वास्तविक संसारमा व्यक्तिको नाङ्गो आँखाले ओलो रङ्ग देख्न नसङ्गने उल्लख गरिएको छ।
प्रयोगको क्रममा अवलोकन गरिएको रङ्ग प्रमाणित गर्न, प्रत्येक सहभागीले ओलोसँग मेल नखाएसम्म नियन्त्रणयोग्य रङ्ग डायल समायोजन गरेको बताइएको छ।
तथापि, केही विज्ञहरूले नयाँ बुझिएको रङ “व्याख्याको कुरा” भएको बताएका छन्।
अध्ययनमा संलग्न नभएका लन्डन विश्वविद्यालयको सिटी सेन्ट जर्जका भिजन वैज्ञानिक प्रोफेसर जोन बारबरले अनुसन्धान चयनात्मक कोन कोशिकाहरूलाई उत्तेजित गर्ने “प्राविधिक उपलब्धि” भए पनि, नयाँ रङको खोज “तर्कको लागि खुला” छ भनि बताएका छन्।
यदि, उदाहरणका लागि, रातो कोन कोषहरू (एल) ठूलो संख्यामा उत्तेजित भएमा, मानिसहरूले “डिप रेड (गाढा रातो) महसुस गर्नेछन्”, तर रातो कोन संवेदनशीलतामा परिवर्तनहरूको आधारमा कथित चमक परिवर्तन हुन सक्छ, जुन यस अध्ययनमा भएको भन्दा फरक छैन भनि उनले व्याख्या गरेका छन्।
अध्ययनका सह–लेखक प्रोफेसर एनजीले ओलो “पक्कै पनि धेरै प्राविधिक रूपमा हेर्न गाह्रो” हुने स्वीकार गरे पनि, टोलीले निश्चित रङहरू बीच छुट्याउन गाह्रो लाग्ने कलर ब्लाइण्डनेस हुने व्यक्तिहरूको लागि यसको सम्भावित अर्थ के हुन सक्छ भनेर हेर्नको लागि निष्कर्षहरूको अध्ययन गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: ७ बैशाख २०८२, आईतवार