ओपनएआईको ५०० अर्ब डलरको स्टारगेट परियोजनाले बेलायतमा भविष्यको लगानीको मूल्याङ्कन गर्दै

Technology Khabar ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

५०० अर्ब डलरको मूल्य रहेको अमेरिकी डाटा केन्द्र परियोजना ‘स्टारगेट’ ले बेलायतमा लगानी गर्ने सम्भावनाको अध्ययन गरिरहेको छ। सफ्टब्याङ्क, ओपनएआई र ओर्याकलद्वारा आर्थिक सहयोग प्राप्त यस परियोजनाले विदेशमा एआई पूर्वाधार विस्तार गर्न सम्भाव्य स्थानहरूको खोजी गरिरहेको फाइनान्सियल टाइम्सले बिहीबार प्रकाशित गरेको छ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायतलाई एआई “सुपरपावर” बनाउने लक्ष्यसहित नवप्रवर्तनमैत्री नीति ल्याउने, अनुसन्धानकर्ताहरूका लागि सार्वजनिक डाटा उपलब्ध गराउने र डाटा केन्द्रहरूका लागि विशेष क्षेत्र निर्धारण गर्ने प्रतिबद्धता जनाएका छन्।

डाटा केन्द्रहरूलाई विद्युत् पहुँचमा सहजता दिने यस्ता प्रयासहरूले स्टारगेट परियोजनाको चासो आकर्षित गरेको फाइनान्सियल टाइम्सले जनाएको छ। समाचार अनुसार, जर्मनी र फ्रान्स पनि सम्भाव्य स्थानका रूपमा अगाडि आएका रोयटर्सले उल्लेख गरेको छ।

सफ्टब्याङ्क र ओपनएआईले रोयटर्सलाई दिएको संयुक्त वक्तव्यमा स्टारगेटले जनवरीमा गरेको ५०० अर्ब डलरसम्मको लगानी प्रतिबद्धता पुनः पुष्टि गरेका छन्। सो लगानी आगामी चार वर्षभित्र अमेरिकामा एआई पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले फेब्रुअरीमा युरोपमा पनि स्टारगेट जस्तो एआई कार्यक्रम ल्याउने चाहना व्यक्त गरेका थिए। उनले भनेका थिए, “हामी स्टारगेट यूरोप गर्न पाउँदा खुसी हुनेछौँ।”

स्टारगेट परियोजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा सार्वजनिक गरेका थिए। यो निजी क्षेत्रको लगानीमा आधारित परियोजना हो जसको उद्देश्य एआई पूर्वाधार निर्माण गरी प्रतिस्पर्धी राष्ट्रहरूभन्दा अगाडि रहने रहेको छ।

प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया