Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार नयाँ आयात शुल्कबाट प्रविधि उद्योग पनि पूर्ण रूपमा जोगिन नपाउने संकेत देखिएको छ।
ट्रम्प प्रशासनले गत शुक्रबार साँझ ल्यापटप, स्मार्टफोनजस्ता उपभोक्ता इलेक्ट्रोनिक्समा यस महिनाको सुरुमा घोषणा गरिएको शुल्कहरूबाट छुट दिने बताएको थियो। यसै साताको सुरुवातमा ट्रम्पले तीमध्ये धेरै शुल्कहरू ढिला गरे पनि, उनले अझै पनि १० प्रतिशत आधारभूत शुल्क कायम राखेका छन् र चिनियाँ सामानमा थप १२५ प्रतिशत शुल्क पनि लगाएका छन्।
तर छुटको खबर आए पनि, आगामी दिनमा प्रविधिजन्य सामानहरू, विशेषतः सेमिकन्डक्टरहरू, लक्षित शुल्कको घेरामा आउन सक्ने बताइएको छ।
लुटनिकले आइतबार बिहान एबीसीको कार्यक्रम “दिस वीक” मा स्पष्ट रूपमा भने, “ट्रम्पले यी उत्पादनहरूलाई आपसी शुल्कबाट छुट दिएका हुन्, तर सेमिकन्डक्टर शुल्कमा समावेश गरेका छन्, जुन सम्भवत: एक–दुई महिनामा लागू हुँदैछन्।”
“यी सबै उत्पादनहरू सेमिकन्डक्टर अन्तर्गत पर्नेछन्, र तिनीहरूमा विशेष ध्यान दिइने खालको शुल्क लगाइनेछ, जसले यी उत्पादनहरू अमेरिका फर्काएर उत्पादन गराउने सुनिश्चित गर्छ,” लुटनिकले भने, “हामीलाई सेमिकन्डक्टर, चिप्स, फ्ल्याट प्यानलहरू-यी सबै वस्तु अमेरिका मै बनाउन जरुरी छ।”
अमेरिकी उपभोक्ताहरूले थप शुल्कका कारण महँगो मूल्य तिर्नुपर्ने हो कि भनेर सोध्दा लुटनिकले भने, “म सोच्दिन,” र फेरि जोड दिए, “हामी अमेरिका भित्रै उत्पादन गर्न सक्छौं भन्ने सोच हो।”
यस्तै, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, “शुक्रबार कुनै शुल्क छुट घोषणा गरिएको थिएन,” किनभने चीनमा बनेका इलेक्ट्रोनिक सामानहरू अझै पनि एउटा छुट्टै २० प्रतिशत शुल्क अन्तर्गत पर्ने छन्, जुन उनले फेन्टानिल समस्यासँग जोडेर लगाएका हुन्।
उनले लेखे, “यी उत्पादनहरू सिर्फ अर्को ‘शुल्क समूह’ मा सारिएका हुन्। नक्कली समाचारहरूले यो थाहा पाए पनि रिपोर्ट गर्न चाहँदैनन्। हामी आगामी राष्ट्रिय सुरक्षा शुल्क अनुसन्धानमा सेमिकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति शृंखलालाई समेटिरहेका छौं।”
प्रकाशित: १ बैशाख २०८२, सोमबार