राष्ट्रपति ट्रम्पको कर छुटको घोषणापछि सोमबार एशियाली प्रविधि कम्पनीहरुको शेयरमूल्यमा उछाल

Technology Khabar १ बैशाख २०८२, सोमबार

काठमाडौं ।

एप्पलजस्ता कम्पनीहरूलाई आपूर्ति गर्ने एशियाली प्रविधि कम्पनीहरूको शेयर मूल्य सोमबार बढेको छ। अमेरिकाले चीनबाट आयात हुने स्मार्टफोन, कम्प्युटर र केही अन्य इलेक्ट्रोनिक सामानमा लगाइने उच्च शुल्कबाट अस्थायी छुट दिएको घोषणा गरेपछि यस्तो देखिएको हो।

एप्पलको सबैभन्दा ठूलो आइफोन एसेम्बलर फक्सकनको शेयर मूल्य ७.८ प्रतिशत सम्म उक्लिएपछि अन्ततः ३प्रतिशत ले बढेर बन्द भयो। ल्यापटप बनाउने ठेक्का निर्माता क्वान्टा को शेयर ५.८ प्रतिशतले बढ्यो भने एआई सर्भर निर्माण गर्ने इनभेन्टेकको शेयर ४.१ प्रतिशत ले उकालियो। यद्यपि समग्र ताइवानी सूचकांक भने ०.१ प्रतिशत ले घट्यो।

एप्पलका आपूर्तिकर्ताहरु चीनको गोएर्टेक  र लेन्स टेकको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेपछि केही मुनाफा लिएर पछि घटेको देखिएको हो। रोयटर्सका अनुसार एप्पललाई आपूर्ति गर्ने र अमेरिकी बजारमा दोस्रो ठूलो स्मार्टफोन बिक्रेता दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सको शेयर मूल्य १.५प्रतिशत ले बढ्यो।

“शुल्कसम्बन्धी सप्ताहन्तको हलचललाई हामी एप्पल र अन्य प्रविधि कम्पनीहरूका लागि सकारात्मक संकेतका रूपमा हेर्छौं, किनभने यसले केही लचिलोपन दिन्छ र आगामी महिनाहरूमा चीनसँग वार्ताका लागि बाटो खोल्न सक्छ,” वेडबश सेक्युरिटिजका विश्लेषक ड्यान आइभ्सले टिप्पणीमा लेखे।

विश्लेषकहरूले एप्पलले चीनबाट धेरै सामान आयात गर्ने भएकाले शुल्क बढेमा अमेरिका भित्र आइफोनको मूल्य बढ्न सक्ने खतरा रहेको बताएका छन्। एप्पलले भारतबाट ६०० टन, अर्थात् १५ लाखसम्म आइफोन अमेरिका पुर्‍याउन चार्टर्ड कार्गो उडान प्रयोग गरेको रोयटर्सले गत हप्ता जनाएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेख्दै आफ्नो आपसी शुल्कबाट छुट दिइएका इलेक्ट्रोनिक उत्पादनहरूलाई “अर्कै शुल्क समूहमा सारिएको” र यिनीहरुलाई सेमिकन्डक्टरसँगै राष्ट्रिय सुरक्षा व्यापार अनुसन्धान अन्तर्गत समीक्षा गरिने बताएका छन्।

इलेक्ट्रोनिक्स क्षेत्रमा कार्यरत केही उद्योग प्रमुखहरूले ट्रम्प प्रशासनका बारम्बार नीतिगत परिवर्तनहरूप्रति चिन्ता व्यक्त गरेका छन्। दक्षिणी चीनको डोङगुवानमा रहेको इलेक्ट्रोनिक ठेक्का उत्पादक कम्पनी एगिलियनका साझेदार रेना अन्जोरानले यो परिवर्तनको क्रम शिथिल भएको बताएका छन्।

“सबै ग्राहकहरू आत्तिएका छन्, सबैजना समाचार पढ्न, सम्पर्क गर्न र जानकारी लिने प्रयासमै छन्, तर कुनै ठोस निर्णय भइरहेको छैन। धेरै कुरा होल्डमा छन्,” उनले भने।

ताइवानस्थित एक इलेक्ट्रोनिक कम्पनीका एक कार्यकारीले नाम नखुलाउने सर्तमा अमेरिकी छुटको घोषणा वास्तविक हो वा “भनाइ मात्र” हो भन्नेमा अन्योल रहेको बताए। ट्रम्पले आयात हुने सेमिकन्डक्टरमा लगाइने शुल्क दर अर्को सातासम्म घोषणा गर्ने बताएका थिए यद्यपि केही कम्पनीहरूसँग लचिलोपन देखाइने पनि बताए।

यसै कारणले केही चिप निर्माता कम्पनीहरूको शेयर मूल्यमा गिरावट देखिएको छ। विश्वकै ठूलो कन्ट्र्याक्ट चिप निर्माता टीएसएमसीको शेयर भने शुरुमा केही बढे पनि पछि २.७ प्रतिशतले घट्यो। मेमोरी चिप निर्माता एसके हाइनिक्सको शेयर ०.५ प्रतिशत ले घट्यो।

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया