अन्तरिक्षमा मानव फोहोरलाई रिसाइक्लिङ गर्ने प्रविधिलाई नासाले करिब ४१ करोड रुपैयाँ दिने

Technology Khabar १ बैशाख २०८२, सोमबार

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानिसहरूलाई एउटा अनौठो कार्यको लागि व्यवहारिक सुझाव दिन आग्रह गरेको छ जसको लागि यसले ३० लाख डलरको पुरस्कार दिनेछ। यसको अर्थ, जसले यो कार्य पूरा गर्छ, अन्तरिक्ष एजेन्सीले उसलाई लगभग ४१ करोड रुपैयाँ पुरस्कार दिनेछ।

वास्तवमा, नासाले आफ्नो अन्तरिक्ष अभियानसँग सम्बन्धित समस्याको समाधान खोजेको छ जसमा मानव फोहोरलाई पुन: प्रयोग गर्नुपर्नेछ। यसको अर्थ दिसा, पिसाब र अन्तरिक्ष अभियानको क्रममा अन्तरिक्ष यात्रीहरूले गरेको बान्तालाई पनि पुन: प्रयोग गर्ने तरिका खोज्नु हो।

नासाले लुनारिसाइकल च्यालेन्ज (LunaRecycle Challenge) अन्तर्गत यो पुरस्कार घोषणा गरेको छ। यो अनौठो अन्तरिक्ष चुनौती समाधान गर्नेलाई करिब ४१ करोड रुपैयाँ पुरस्कार दिइनेछ। यसअन्तरगत नासाले मानिसहरुबाट एउटा समस्याको समाधान खोज्ने लक्ष्य राखेको छ जसले अन्तरिक्ष यात्रीहरूको मलमुत्रलाई रिसाइकल गर्न सकियोस्।

“पूर्ण रूपमा नयाँ दृष्टिकोणहरू, दक्षता सुधार गर्ने र विषाक्त उत्पादनहरू कम गर्ने प्रक्रियाहरू, र विश्वभरका समुदायहरूमा प्रयोग गर्न सकिने साना-स्तरीय प्रविधिहरू मार्फत यो चुनौतीले स्थलीय पुनर्चक्रणको लागि राम्रो दृष्टिकोण र परिणामहरूलाई प्रेरित गर्ने आशा पनि गर्दछ,” नासाले भनेको छ।

हाल, चन्द्रमामा ९६ ओटा झोला मानव दिसा रहेको बताइएको छ। यी झोलाहरू अपोलो मिसनहरूले त्यहाँ छोडेका थिए। नासाको यो चुनौतीको उद्देश्य अन्तरिक्ष यात्रीहरूको दिसा व्यवस्थापन गर्नु हो जसले अन्तरिक्षमा फोहोर सिर्जना गरिरहेको छ। जसको समाधान उत्तम हुनेछ, एजेन्सीले भविष्यका अन्तरिक्ष अभियानहरूमा त्यसलाई अपनाउनेछ।

नासाले दिगो अन्तरिक्ष अभियान प्रति प्रतिबद्ध रहेको बताएको छ। एजेन्सीले आफ्नो वेबसाइटमार्फत बताएअनुसार, भविष्यमा मानव अन्तरिक्ष अभियानहरूको तयारी गर्दा, ठोस फोहोर सहित विभिन्न फोहोर पदार्थहरूलाई कसरी कम गर्न सकिन्छ भनेर विचार गर्नुपर्नेछ। साथै अन्तरिक्ष वातावरणमा फोहोर कसरी भण्डारण, प्रशोधन र पुन: प्रयोग गर्न सकिन्छ जसले गर्दा थोरै मात्र वा कुनै पनि फोहोर पृथ्वीमा फर्काउन नपरोस् भन्ने बारेमा ध्यान दिने उल्लेख छ।

नासाले यस चुनौतीको लागि पठाइएका पहिलो चरणका सुझावहरूको समीक्षा गर्ने तयारी गरिरहेको छ। जसको सुझाव सबैभन्दा राम्रो छ उसलाई प्रतियोगितामा थप अगाडि पठाइनेछ। जुन टोलीले प्रतिस्पर्धा जित्छ उसलाई ३० लाख डलर पुरस्कार दिइनेछ। नासाले यस प्रतियोगिताको दोस्रो चरणको लागि पछि आव्हान गर्ने जनाएको छ।

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया