टिकटक सम्झौता अझै टेबलमै छ-अमेरिकी राष्ट्रपति ट्रम्प

Technology Khabar २९ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार टिकटकको अमेरिकी सम्पत्ति अलग गर्ने सम्भावित सम्झौता केही दिनअघि रोकिएको भए पनि अझै पनि “टेबलमा” रहेको बताएका छन्।

कसैकसैले प्रस्तावित सम्झौतामाथि आलोचना गरे पनि ट्रम्पले त्यसको बचाउ गरेका छन्। “हामीसँग केही असाध्यै राम्रा मान्छेहरू र धनी कम्पनीहरू छन्, जसले यो काम राम्रोसँग गर्नेछन्। तर चीनसँग के हुन्छ भनेर हेर्नुपर्नेछ,” ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग भने। “यो अझै टेबलमै छ।”

रोयटर्सका अनुसार शुक्रबार ट्रम्पले चीनको बाइटडान्स कम्पनीलाई टिकटकको अमेरिकी सम्पत्ति बेच्नका लागि समय बढाएका थिए। अमेरिकामा झन्डै १७ करोड प्रयोगकर्ताले प्रयोग गर्ने यो छोटो भिडियो एप यदि जुन १९ सम्म सम्झौता भएन भने प्रतिबन्धित हुन सक्नेछ। यही मितिबाट प्रतिबन्ध लागू हुने जनाइएको छ।

यसअघि जनवरीमा लागू हुने भनिएको प्रतिबन्ध ट्रम्पले दुईपटक स्थगित गरिसकेका छन्। प्रस्तावित सम्झौता अनुसार टिकटकको अमेरिकी कारोबारलाई अमेरिकामै आधारित नयाँ कम्पनीमा रूपान्तरण गरिनेछ, जसमा बहुसंख्या स्वामित्व र सञ्चालन अमेरिकी लगानीकर्ताको हुने बताइएको छ। यस योजना अन्तर्गत टिकटक को अमेरिकी इकाइ अलग गरेर चिनियाँ स्वामित्व घटाइनेछ।

तर डेमोक्र्याट सिनेटर मार्क वार्नर र एड मार्कीले भने ट्रम्पसँग समय बढाउने कानुनी अधिकार नभएको बताएका छन्। वार्नरले प्रस्तावित सम्झौता कानुनी मापदण्ड पूरा नगर्ने दाबी गरेका छन्। बुधबार सिनेटर मार्कीले समय बढाएर अक्टोबरसम्म पुर्‍याउने विधेयक ल्याउन खोजे पनि त्यसलाई रोकिएको थियो।

सिनेट इन्टेलिजेन्स कमिटीका अध्यक्ष टम कटनले बुधबार भने, “धेरै अमेरिकी लगानीकर्ताले टिकटक किन्न चाहेका छन्, तर उनीहरूले चीनसँगको सबै सम्बन्ध तोड्नुपर्नेछ।” उनले थपे, “टिकटकका अघिल्ला अपराध वा अमेरिकाविरुद्धका हानीबाट आफूलाई जोगाउन कुनै अमेरिकी लगानीकर्ताले कंग्रेससँग सुरक्षा खोजेमा, कंग्रेसले चीनसँगको यस्तो सम्झौताको बचाउ कहिल्यै गर्नेछैन।”

टिकटकले तत्काल प्रतिक्रिया दिएको छैन। टिकटकको अमेरिकी कारोबारको कुनै पनि सम्झौतामा सबैभन्दा ठूलो चुनौती भनेको चिनियाँ सरकारको स्वीकृति नै हो।

बाइटडान्सका अमेरिकी लगानीकर्तासँग नजिकको एक स्रोतका अनुसार सम्झौतामाथि काम जारी छ र जुन १९ को समयसीमाअघि सम्झौता गर्ने प्रयास भइरहेको छ। तर सेतो सदन र बेइजिङबीचको शुल्क विवाद समाधान हुन आवश्यक छ।

कानुन अनुसार बाइटडान्सले अमेरिकी सम्पत्ति नबेचेको खण्डमा टिकटकले जनवरी १९ देखि अमेरिकामा सञ्चालन गर्न नपाउने व्यवस्था थियो। ट्रम्पले जनवरी २० मा दोस्रो कार्यकाल सुरू गरेका थिए र उक्त कानुन कार्यान्वयन नगर्ने निर्णय गरेका थिए।

जनवरीमा अमेरिकी न्याय विभागले एप्पल र गुगललाई यो कानुन कार्यान्वयन नगर्ने जानकारी दिएपछि ती कम्पनीहरूले टिकटक एप नयाँ डाउनलोडका लागि फेरि उपलब्ध गराएका थिए।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया