अमेरिकामा नियम उल्लङ्घनका कारण टीएसएमसीले १ अर्ब डलर तिर्नुपर्ने सम्भावना

  • Technology Khabar | २८ चैत्र २०८१, बिहीबार
अमेरिकामा नियम उल्लङ्घनका कारण टीएसएमसीले १ अर्ब डलर तिर्नुपर्ने सम्भावना

काठमाडौं ।

ताइवानको अर्धचालक निर्माता कम्पनी ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले अमेरिकी निर्यात नियन्त्रण नियम उल्लंघन गरेको आरोपमा १ अर्ब डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने सम्भावना रहेको दुई स्रोतले बताएका छन्।

यो अनुसन्धान एक चिपसँग सम्बन्धित छ जुन ह्वावे को उन्नत एसेण्ड ९१०बी कृत्रिम बुद्धिमत्ता (एआई) प्रोसेसरमा फेला परेको थियो। ती चिपहरू चीनस्थित शपगो नामक डिजाइन कम्पनीको आदेशमा टीएसएमसीले बनाएको थियो, जसले ह्वावे सँग मिल्दोजुल्दो डिजाइन प्रयोग गरेको बताइएको छ।

ह्वावे अहिले अमेरिकी प्रतिबन्ध सूचीमा परेको कम्पनी हो, जसलाई अमेरिकी प्रविधि प्रयोग गरेर बनेका उत्पादनहरू आपूर्ति गर्न प्रतिबन्ध छ। ह्वावे लाई विगतमा प्रतिबन्ध तोडेको र व्यापार गोप्य सूचना चोरेको आरोप लाग्दै आएको छ।

टीएसएमसीले पछिल्ला केही वर्षमा झन्डै ३० लाख चिपहरू Sophgo का लागि बनाएको र ती सम्भवतः ह्वावे मा पुगेको हुनसक्ने आरएएनडी संस्थाका अनुसन्धानकर्ता लेनार्ट हाइमले बताएका छन्। हाइम चीनको एआई प्रविधिको विकासमा नजर राखिरहेका रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी निर्यात नियन्त्रण नियमअनुसार उल्लंघन भएको कारोबारको दोब्बरसम्म जरिवाना तोक्न सकिन्छ। त्यसैका आधारमा टीएसएमसी लाई १ अर्ब डलरभन्दा बढी जरिवाना लाग्न सक्ने बताइएको हो।

टीएसएमसीका कारखाना अमेरिकाको प्रविधि प्रयोगमा आधारित भएकाले ताइवानमै भए पनि अमेरिकी निर्यात नियन्त्रणको दायरामा पर्छन्। त्यसैले कम्पनीले ह्वावे वा कुनै चिनियाँ ग्राहकका लागि उन्नत चिप उत्पादन गर्न अमेरिकी अनुमति अनिवार्य हुन्छ।

लेनार्ट हाइमका अनुसार, डिजाइनको आधारमा त्यो चिप एआई प्रयोगका लागि बनाइएको स्पष्ट छ र टीएसएमसीले यस्तो चिप चीनमा मुख्यालय भएको कम्पनीका लागि बनाउनु हुँदैनथ्यो। यसको मुख्य कारण उक्त चिप प्रतिबन्धित ह्वावेमा पुग्ने सम्भावना थियो।

यस समाचारपछि अमेरिकी बजारमा कारोबार भइरहेका टीएसएमसी का सेयर मूल्यमा करिब ३ प्रतिशत गिरावट आएको छ।

यो विवाद त्यस्तो समयमा आएको हो जब अमेरिका र ताइवान बीच व्यापार सम्झौताको पुनः छलफल सुरु भएको छ। गत हप्ता ट्रम्प प्रशासनले ताइवानबाट आयात हुने केही वस्तुमा ३२ प्रतिशत कर लगाएको थियो। चिपहरू भने उक्त करबाट बाहिर छन्, तर ट्रम्पले चिपमा पनि कर लगाउने सम्भावनाबारे छलफल भइरहेको बताएका छन्।

टीएसएमसी ले मार्चमा ह्वाइट हाउसमा १०० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गर्दै आगामी वर्षहरूमा अमेरिका भित्र पाँचवटा नयाँ चिप कारखाना खोल्ने जनाएको थियो।

रोयटर्सका अनुसार वाणिज्य विभागका प्रवक्ताले यसबारे टिप्पणी गर्न अस्वीकार गरे। टीएसएमसी की प्रवक्ता नीना काओले भने कम्पनीले कानूनको पालना गर्ने प्रतिबद्धता जनाएको र ह्वावे लाई सेप्टेम्बर २०२० देखि आपूर्ति नगरेको बताइन्। कम्पनीले अमेरिकी विभागसँग सहयोग गरिरहेको पनि उनले बताइन्।

बुधबार ताइपेईमा पत्रकारसँग कुरा गर्दै ताइवानका अर्थमन्त्री कुओ ज्येहुइले भने, “टीएसएमसी कानून र नियमको सम्मान गर्ने कम्पनी हो।” मन्त्रालयलाई अहिले कुनै जरिवाना सम्बन्धी औपचारिक जानकारी नआएकोले थप प्रतिक्रिया दिन नसक्ने उनले बताए।

हालसम्म टीएसएमसी विरुद्ध सार्वजनिक रूपमा कुनै कारबाही गरिएको छैन। तर सामान्यतया, अमेरिकी वाणिज्य विभागले कम्पनीलाई ‘प्रस्तावित आरोप पत्र’ पठाउने गर्छ, जसमा उल्लंघन भएको मिति, मूल्य, जरिवाना गणना लगायतको विवरण हुन्छ र जवाफ दिन ३० दिनको समय दिइन्छ।

प्रकाशित: २८ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...